माघ २५ गतेबाट देशव्यापी प्रदर्शन आएको फिल्म ‘सारंग’ प्रिमियरमा रूचाइयो
काठमाडौं, २५ माघ। निर्देशक प्रशान्त तामाङको फिल्म ‘सारंग’ ले जताततै तारिफ पाएको छ।
यही माघ २५ गतेबाट देशव्यापी प्रदर्शनमा आएको फिल्मको मंगलबार क्युएफएक्स, सिभिल मलमा प्रिमियर गरिएको थियो। प्रिमियरमा फिल्म हेरेका कलाकार, प्राविधिक, संचारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिले ‘सारंग’ मन परेको प्रतिक्रिया दिए।
अभिनेत्री, निर्देशक दीपाश्री निरौलाले ‘सारंग’ को खुलेर तारिफ गरिन्। विवाहित, अविवाहित सबैका लागि यो फिल्म खास रहेको बताउँदै सबैले हेर्नुपर्ने धारणा राखिन्। फिल्ममा मनारञ्जनका साथ प्रचुर सन्देशसमेत रहेकाले आमदर्शकको मन जित्ने विश्वास व्यक्त गरिन्। उनले ऋचा, उत्पल, बालकलाकारद्वय आदित्य कार्की र सम्राट थापाको अभिनय उत्कृष्ट लागेको बताइन्। वास्तविक घटनाहरूमा फिल्म निर्माण गर्नु निकै आँटिलो काम भएको र यसका लागि निर्माता, निर्देशकलाई सम्मान गर्नुपर्ने धारणा राखिन्।
निर्देशक प्रदिप भट्टराईले ुसारंगु हेरेर आफू, श्रीमती र छोरा पनि धेरै ठाउँमा रोएको बताए। उनले यसप्रकारको सुन्दर फिल्म अझै निर्माण गर्नुपर्नेमा जोड दिए। निर्माता अर्जुनकुमारले ुसारंगु हाल चलिरहेका भन्दा अलि फरक विषयबस्तुको फिल्म भएको तथा परिवार र समाजलाई सौहाद्र्धतामा बाँधिराख्नका लागि यस प्रकारका फिल्मले ठूलो भूमिका खेल्ने राय राखे। उनले फिल्मका थुप्रै दृश्यले मन छोएको बताए।
अभिनेत्री प्रियंका कार्कीले रियालिटी बेसमा बनेको ‘सारंग’ ले आम दर्शकको मन छुने बताइन्। उनले घर, परिवारमा घटिरहेका घटनाहरूलाई लिएर सुन्दर फिल्म बनाइएको प्रतिक्रिया दिइन्। अभिनेता देव्यदेव र अभिनेता, निर्देशक सुलक्षण भारतीले पनि ‘सारंग’ वास्तवमै आम दर्शकमाझ पुर्याउनै पर्ने कथामा निर्माण गरिएको उल्लेख गर्दै तारिफ गरे। उनीहरूले फिल्म हेरेर आफूहरू धेरै ठाउँमा रोएको बताए।
अभिनेत्री तथा यस फिल्ममा कार्यकारी निर्मात्रीका रूपमा समेत रहेकी ऋचा शर्माले ‘सारंग’ आफ्नो करिअरको दोस्रो इनिङ भएको बताइन्। प्रिमियरमा उपस्थिति पाहुनाहरूलाई स्वागत गर्दै उनले भनिन्, केही वर्षको अन्तरालपछि म यही फिल्मबाट पर्दामा आउदैछु। र फिल्म पनि निकै राम्रो बनेको छ। यसअघिका विभिन्न विशेष शोहरूमा निकै राम्रो प्रतिक्रिया पाएका छौं। त्यसकारण म निकै आशावादी छु। मलाई लाग्छ यो मेरो दोस्रो इनिङ हो।
निर्देशक, लेखन तथा निर्माता प्रशान्त तामाङले आफू समाजिक तथा पारिवारिक सदभावको पक्षमा रहेकाले पारिवार, आफन्त, मित्र तथा समाज मिलनको विषयमा फिल्म बनाउन मन पराउने उल्लेख गरे। यसअघि पनि बाल मनोविज्ञानमा ‘ठूलो मान्छे’ नामक फिल्म निर्माण गरेका प्रशान्तले ‘सारंग’ टुक्रिन लागेको परिवारमा दुई बालकको आत्मीयताले गर्ने जादुमय संयोगान्तको कथा प्रस्तुत गरेका छन्।
प्रदर्शनपूर्व लबिम मल, धरान, इटहरीलगायतका स्थानमा गरिएको विशेष प्रदर्शनीबाट निकै तारिफ पाएको ‘सारंग’ हेर्ने आम दर्शकभने हलमा भक्कानिने, रूने गरेको पाइन्छ। अधिकांश दर्शकले फिल्मले मन छोएको, वास्तविक लागेको तथा आफ्नो घरपरिवारमा पनि यसप्रकारका समस्याको अनुभूति गरिरहेएकाले एकाएक आँशु झर्ने गरेको प्रतिक्रिया दिइरहेका छन्। ‘सारंग’ मा विशेषगरी शहरिया जीवन, बाबुआमाबीचको मतभेद, धनी गरिबबीचको खड्ल तथा भौतिक सुख खोज्ने नाममा हुने गरेको पारिवारिक बिखन्डनको वास्तविक चित्र प्रस्तुत गरिएको छ।
प्रतिक्रिया दिनुहोस्