माघ २५ गते शुक्रबारदेखि प्रदर्शन हुने ‘हरर–थ्रिलर जनराको फिल्म ममी’ को रेडकार्पेट प्रिमियरः प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
काठमाडौं, २४ माघ । यही माघ २५ गते अर्थात् भोलि शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ममी’ ले प्रिमियरमा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । बुधबार सुन्धारास्थित क्यूएफएक्सको सिभिल हलमा गरिएको प्रिमियरमा उपस्थित प्रायःले हरर–थ्रिलर जनरामा बनेको अहिलेसम्मको उत्कृष्ट फिल्म रहेको प्रतिक्रिया दिए । फिल्म हेरेका धेरैले फेसबुकमा पनि यही वाक्य उल्लेख गरेका छन् ।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले विषयवस्तु अनुसार उत्कृष्ट फिल्म बनेको बताइन् । उनले भनिन्, ‘क्लाइमेक्सबाट दिन खोजिएको म्यासेज एकदमै राम्रो छ । त्यो म्यासेज अर्थपूर्ण छ । प्रियंका कार्कीको अभिनय बबाल छ । अरु कलाकारहरुले पनि राम्रो काम गर्नुभएको छ । जुन उद्देश्यले निर्देशकले फिल्म बनाउनुभएको छ, उहाँले जित्नुभएको छ ।’
त्यस्तै, अभिनेत्री केकी अधिकारीले पनि फिल्मको प्रशंसामा शब्द खर्चिइन् । उनले ‘ममी’लाई हरर(थ्रिलर जनरामा बनेको उत्कृष्ट फिल्मको रुपमा दाबी गर्दै भनिन्, ‘मलाई लाग्छ, हरर(थ्रिलर जनरामा बनेको यो अहिलेसम्मकै उत्कृष्ट नेपाली फिल्म हो । फिल्म टेक्निकली एकदमै राम्रो बनाइएको छ । साउन्डमा असाध्यै राम्रो काम गरिएको छ । कास्टिङ पनि व्रिलियन्ट नै छ ।’
अभिनेता सलोन बस्नेतले पनि फिल्म राम्रो बनेको बताए । उनीसँगै प्रिमियरमा पुगेकी फिल्म ‘रंगी’की अभिनेत्री नम्रता श्रेष्ठले ‘ममी’ले तर्साउन र समाजमा घट्ने नराम्रा घटनाबारे पनि सजग हुन सचेत गराएको धारणा व्यक्त गरिन् । फिल्मको ब्याकग्राउन्ड स्कोरले उनलाई बढी तर्सिएको रहेछ । सलोन र नम्रतासँगै पुगेका अभिनेता सलिनमान बनियाँले फिल्म हेर्दा आफूलाई डर लागेको बताए ।
प्रिमियरमा फिल्मकी मुख्य अभिनेत्री प्रियंका कार्की कालो स्लिभलेस पहिरनमा आकर्षक बनेर पुगेकी थिइन् । अर्की अभिनेत्री दीया मास्के पहेँलो पोते लगाएर सेतोकालो पहिरनमा उपस्थित थिइन् । प्रिमियरमा केही किशोरीहरु रगत लतपतिएको आकाशे नीलो पोसाकमा प्रस्तुत थिए, जुन पोसाक फिल्ममा दीया र प्रियंकाले लगाएका छन् ।
समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको डेब्यु निर्देशन रहेको फिल्ममा प्रियंका र दीयासहित सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्ट, बाल कलाकारहरु आयुषी ढकाल र जेभिस श्रेष्ठ लगायतको अभिनय छ । फिल्मको निर्माता लोकराज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्