जनकपुरमा चलचित्र महोत्सव फागुन १६ देखि १८ सम्म हुने
काठमाडौं, २३ माघ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुने भएको छ । संवाद फाउन्डेसनले आगामी फागुन १६ गतेदेखि १८ गतेसम्म तीन दिन जनकपुरमा महोत्सव गर्न लागेको हो । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच महोत्सवको बारेमा जानकारी गराइयो । महोत्सवमा अहिलेसम्म ११४ बढी देशका फिल्महरुले आवेदन दिइसकेको जनाइएको छ ।
नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्द्धन तथा सम्भावना र अवसरको खोजीसँगै फिल्म संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको संवाद फाउन्डेसनका प्रमुख कुमार भास्करले जानकारी दिए । महोत्सवले नेपालको पर्यटन प्रवर्द्धनमा समेत मद्दत पुग्ने उनको विश्वास छ । उनी फिल्म ‘कौसीद’का निर्देशक समेत हुन् ।
जनकपुरको मैथिली भवनमा हुन लागेको महोत्सवमा इन्टरनेशनल पानोरामा, नेपाली पानोरामा र स्टूडेन्ट पानोरामा जस्ता श्रेणीमा फिल्म प्रदर्शन हुने जनाइएको छ । केही दिनमा महोत्सवमा प्रदर्शन हुने फिल्मको लाइनअप सार्वजनिक गरिने आयोजक संस्थाका प्रमुख भास्करले बताए । महोत्सवमा फिल्म प्रदर्शनसहित कार्यशाला तथा मास्टर क्लासहरु पनि राखिनेछ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली र मिथिला फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन महोत्सवले विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले यस्ता महोत्सवलाई अरु क्षेत्रको बजेट कटौती गरेर पनि सहयोग गर्ने बताए । त्यस्तै, अभिनेत्री रेखा थापाले कलाको जननी मिथिला सभ्यता भएकाले त्यो महत्त्वलाई महोत्सवले अझ उजागर गर्ने विश्वास व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस्