महिला टी–२०आई शृंखलामा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित, चौथो पटक पनि हारेसँगै उपाधिबाट बाहिरियो नेपाल

काठमाडौं, २२ माघ। काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलाको आफ्नो चौथो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएसँगै उपाधि होडबाट समेत बाहिरिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कविता जोशीले सर्वाधिक २४ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । थाइल्याण्डका लागि थिपाथ्चा पूथावोङले ४ ओभरमा १० रन दिएर ४ विकेट लिइन् । फनिता मायाले २ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनाएको थियो । थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ तथा थिपाथ्चा पूथावोङले अविजित २५ रन बनाए । नानपत कोन्चारोन्काइले १९ रन बनाइन् ।

५६ मा ६ विकेट गएको अवस्थाबाट चनिदा र थिपाथ्चा मिलेर अविजित अर्धशतकीय पारी खेले । नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् । पुजा महतो र रचना चौधरीले ११ विकेट लिए । रचनाले नेपालका लागि टी–२०आईमा डेब्यू विकेट लिएकी हुन् ।

नेपाल पछिल्ला तीनवटै खेलमा पराजित भएको थियो । शृंखलामा जित्ने सम्भावना कायमै राख्न नेपाललाई यस खेल जित्नैपर्ने दबाब थियो । अब नेपालले बाँकी दुवै खेल जितेपनि उपाधिका लागि पर्याप्त हुनेछैन ।

सबै टोलीले एकअर्कासँग ३–३ खेल खेल्ने शृंखलामा थाइल्याण्डको भने यो लगातार चौथो जित हो । योसँगै थाइल्याण्ड उपाधि होडमा बलियो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्