वसन्त पञ्चमीको अवसरमा दीपेन्द्र के खनालको निर्देशनमा ‘हरिबहादुरको जुत्ता’को छायांकन सुरु

काठमाडौं, २१ माघ । दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’को मुहूर्त गर्दै छायांकन सुरु गरिएको छ । सोमबार वसन्त पञ्चमीको अवसर पारेर भक्तपुरस्थित सुर्यविनायक मन्दिरमा मुहूर्त पूजापछि काभ्रेको पनौती नगरपालिकामा पर्ने शंखुबाट छायांकन सुरु भएको निर्देशक खनालले जानकारी दिए । ४५ दिनको सेड्युलमा फिल्मको छायांकन काभ्रेपछि काठमाडौंमा गरिनेछ ।

हरिवंश आचार्यको लेखन रहेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा देखिनेछन् । उनीसहित प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रियंका कार्की, किरण केसी, मुरलीधर लगायतको पनि अभिनय रहनेछ । प्रकाश यतिबेला पूर्वमा फिल्म ‘सोल्टिनी’को छायांकनमा व्यस्त भएकाले उनले केही दिनपछि ‘हरिबहादुरको जुत्ता’को सेट ज्वाइन गर्ने जनाइएको छ ।

मुहूर्त समारोहमा कलाकार आचार्यले फिल्म बनाउन सजिलो नरहेको अनुभव सुनाए । फिल्म र देश बनाउनु एउटै रहेको उनको भनाइ छ । उनले भने, ‘देश र फिल्म बनाउँदा बिग्रियो भने खत्तम हुन्छ । यसैले फिल्म बनाउने बेला धेरै तनाव हुन्छ । र, फिल्म बनाउनलाई टिम एकदमै बलियो चाहिन्छ । बलियो टिममा फेरि नगद पनि बलियो चाहिन्छ । अचेल फिल्म बनाउन एकदमै धेरै खर्च हुन्छ ।’

निर्देशक खनालले फिल्मलाई राम्रो बनाउन प्रयास गर्ने बताए । ‘म फिल्मलिएर म उत्साहित छु । मैले आजसम्म धेरै पिल्म निर्देशन गरेँ । त्यो सबैबाट सिकेको, जानेको र बुझेको सिप कौशल यसमा राख्ने कोसिस गर्नेछु,’ उनले भने । दीपेन्द्रले प्रियंका र स्वस्तिमासँग यसअघि काम गरिसकेको भए पनि हरिवंश र प्रकाशसँग उनको यो पहिलो सहकार्य हो ।

सरोज ओली र मोहितवंश आचार्यले निर्माण गर्ने फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा बन्नेछ । प्राप्त जानकारी अनुसार दुई दशकअघिको चर्चित सिरियल ‘मदनबहादुर र हरिबहादुर’मा हरिवंश आचार्यले निर्वाह गरेको हरिबहादुरको चरित्रबाट प्रभावित भएर फिल्म बन्न लागेको हो । यसमा हरिवंशले हरिबहादुरकै चरित्र निर्वाह गर्नेछन् । उनको जोडीको रुपमा प्रियंका देखिने स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्