त्रिकोणात्मक टी ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपालको लगातार तेस्रो हार
काठमाडौं, २० माघ। त्रिकोणात्मक टी ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा नेपाल नेदरल्याण्डसँग १५ रनले पराजित भएको हो ।
नेपालले टस हारेर पहिले फिल्डिङ गरेको थियो । नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको कठिन लक्ष्य दियो । नेपालका लागि सिता रानामगरले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा ५ विकेट लिएकी थिइन् ।
दोस्रो इनिङमा नेपालले स्थिर सुरुवात गर्यो । पहिलो विकेटका लागि सम्झना खड्का र ममता चौधरीले ५.५ ओभरमा ३१ रनको साझेदारी गरेका थिए । ममता १३ बलमा सात रन बनाएर आउट भइन् । लगत्तै सम्झना पनि २३ रनमा पेभिलियन फर्किइन् ।
तेस्रो नम्बरमा आएकी पूजा महतो र कप्तान इन्दु बर्माबीच आशालाग्दो साझेदारी भयो । उनीहरुले ३७ रन थप्दै नेपाललाई १२.३ ओभरमा ७१ रनमा पुर्याए । तर, पूजा महतो १८ रनमा आउट भएसँगै नेपाललाई ठूलो झट्का लाग्यो । पूजाले १८ बलकै सामना गरेर १ चौका प्रहार गरेकी थिइन् ।
रन गति बढाउन नसक्दा नेपालमाथि दवाव बढ्दै गयो । कप्तान इन्दुले ३० रनमा विकेट गुमाइन् । रुबिना क्षेत्री आज पनि चलिनन् । उनी पहिलो बलमै आउट भइन् । नेपालले पूरा २० ओभर खेलेर ८ विकेट क्षतिमा १२५ रन मात्र जोड्न सक्यो । नेपालले १६ अतिरिक्त रन पाएको थियो ।
आजको हारसँगै नेपालको उपाधि होड कमजोर बनेको छ । यसअघि नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग एक–एक हार व्यहोरेको थियो ।
प्रतिक्रिया दिनुहोस्