ब्राजिलियन फरवार्ड नेइमारको साउदी क्लब अल–हिलालसँगको सम्झौता रद्द

काठमाडौं, १५ माघ । ब्राजिलियन फरवार्ड नेइमारको साउदी अरेबियाको प्रो लिगको टोली अल–हिलालसँगको सम्झौता आपसी सहमतिमा रद्द गरिएको छ।

३२ वर्षीय ब्राजिलियन अन्तर्राष्ट्रिय खेलाडी अगस्ट २०२३ मा ९० मिलियन युरो हिलालमा आबद्ध भएका थिए। तर चोट लागेपछि उनले क्लबको लागि केवल सात खेल मात्र खेल्न सके।

सन् २०१७ मा फ्रेञ्च क्लब पिएसजीमा २०० मिलियन पाउण्डमा आबद्ध भएपछि उनी त्यतिबेलाको विश्वको सबैभन्दा महँगो फुटबलर बनेका थिए।

पिएसजीबाट दुई वर्षअघि साउदी गएका नेइमारले यो सिजन त दुई खेलमा मात्र क्लबका लागि उपस्थिति जनाए। पछिल्लोपटक नोभेम्बरमा उनी क्लबको वैकल्पिक खेलाडी बन्दै बेन्चमा उपस्थित थिए।

अब उनी ब्राजिलियन क्लब सान्तोसमा फर्कने चर्चा छ। जहाँबाट नेइमारले आफ्नो विश्वव्यापी चर्चा कमाएका थिए।

नेइमारको अल–हिलालसँगको सम्झौता अवधि लगभग सात महिना बाँकी थियो। उनी अल–हिलालसँग दुई वर्षको सम्झौतामा सामेल भएका थिए। उनको तलबप्रति वर्ष १५० मिलियन युरो रहेको बताइएको छ।

अक्टोबर २०२३ मा उरुग्वेविरुद्ध ब्राजिलको विश्वकप छनोट खेलको क्रममा लिगामेन्टमा चोट लागेपछि उनी लामो समयसम्म मैदान बाहिर रहे।

उनी गत वर्षको अक्टोबरमा एक वर्षपछि मैदान फर्किए। तर उनलाई फेरि चोटले सतायो। आफ्नो दोस्रो खेलमा ह्यामस्ट्रिङ समस्या बल्झिएपछि उनले खेलेका छैनन्।

नेइमार सान्तोसको युथ टिमबाट छनोट भएका खेलाडी हुन्। सान्तोसमा उनले २२५ खेलमा १३६ गोल गरेका थिए। त्यसपछि उनी सन् २०१३ मा स्पेनिस क्लब बार्सिलोनामा आबद्ध भएका थिए।

स्पेनमा चार सिजनमा १८६ खेल खेलेका नेइमारले दुई ला लिगा उपाधि, च्याम्पियन्स लिग र क्लब विश्वकप जितेका थिए।

पिएसजी गएपछि उनले पाँच लिग उपाधि जित्न सफल भए।

उनी ब्राजिलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन्। उनले पेलेलाई उछिनेर ७८ गोलका साथ ब्राजिलको पुरुष गोलकर्ता बने। तर २०२३ मा उनको घुँडाको चोट लागेपछि उनले आफ्नो देशको लागि खेलेका छैनन्।

प्रतिक्रिया दिनुहोस्