नयाँ पार्टीको घोषणा नेपालको भविष्यको संकेत: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टीको घोषणा नेपालको भविष्यको संकेत हुने दावी गर्नुभएको छ ।

आफ्ना तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको २५ औ स्मृतिदिवसको अवसरमा बल्खुमा आयोजना गरिएको कार्यक्रममा उहाँले एमाले र माओवादी केन्द्रको एकता पछिको पार्टीले नेपालको नयाँ आशा भरोसा र भविष्यको संकेत गर्ने दावी गर्नुभएको हो ।

उहाँले दुईवटा पार्टीको एकता चानचुने नभएको र यसले देशलाई नयाँ उचाइमा लैजाने पनि दावी गर्नुभयो । ‘नेपालको आर्थिक सामाजिक राजनीतिक सास्कृतिक रुपमा यो एकताले दूरगामी असर गर्छ, उहाँले भन्नुभयो आज निर्वाचन आयोगमा दर्ता हुने दल चानचुने दल दर्ता होइन भविष्यको संकेत दर्ता गर्दैछौँ ।’

कांग्रेसलाई पनि सँगै लिएर जाने र देश निर्माण गर्ने ओलीको भनाई छ । कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी दल नरहेको भन्दै उहाँले कांग्रेसको पनि लामो योगदान र इतिहास रहेकले उसलाई पनि सँगै लिएर देशको सम्बृद्धिमा लाग्ने बताउनुभयो ।

देशमा अधिनायकवाद आउने हल्ला चलाइएको भन्दै उहाँले भ्रष्टाचार गर्न नभइ भ्रष्टाचार नियन्त्रण गर्न, कुशासन चलाउन नभई सुशासन चलाउन र देशलाई नयाँ उचाइमा पुर्याउन नयाँ दल घोषणा गर्न लागिएको बताउनुभयो ।

स्वर्गीय मदन भण्डारीले देखाएको बाटो अब विस्तारित र फराकिलो बनेको र यसले आगामी दिनमा अरु बढी सामथ्र्य र प्रभाव देखाउने ओलीको दावी छ ।

भण्डारी शताब्दि नायक, असाधारण चिन्तक, दूरद्रष्टा रहेको र उहाँको निधनपछिका २५ वर्ष जागरण, विचार चिन्तन प्रयोग व्यवहार सफलता असफलताका उतारचढावका हिसाबले महत्वपूर्ण रहेको प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्