बाल विवाह र महिला हिंसाको कथा बोकेको फिल्म ‘जुना’ माघ २५ गते प्रदर्शनमा आउँदै
काठमाडौं, ११ पुस । आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जुना’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक पोस्टरमा फिल्मकी प्रमुख अभिनेत्री अस्मिता ढकाल चित्रित छिन् । उमेरले कलिलै देखिएको उनको सिउँदोमा सिन्दूर र गलामा पोते छ । यसले उनको बाल विवाह भएको बुझाउँछ । निराश भावमा टोलाइरहेकी उनको अनुहारमा पीडाभाव झल्किएको छ ।
बाल विवाह र महिला हिंसाविरुद्धको कथावस्तुमा आधारित भएर बनेको फिल्ममा अस्मितासहित कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके, केशव अधिकारी लगायतको अभिनय छ । जीवन सेञ्चुरीको निर्देशनमा तयार भएको फिल्मका निर्माता दीपकप्रसाद घिमिरे हुन् ।
फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डीओपी छ । फिल्मको विभिन्न सहरमा दर्जनौं च्यारिटी शो भइसकेका छन् । केही शोमा दर्शकहरु रोएर बेहोस समेत भएका थिए । यसैले फिल्म विशेष बनेको हुनसक्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्