मानवीय संवेदनाको कथामा वर्षा सिवाकोटी अभिनित फिल्म ‘झिल्को’ बैशाख १९ मा रिलिज हुने
काठमाडौं,९ पुस । अभिनेता सुनील पोखरेलको १३ वर्षपछिको कमब्याक फिल्म ‘झिल्को’को प्रदर्शन मिति परिवर्तन भएको छ । आज पुष ५ गतेलाई प्रदर्शन मिति तोकिएकोमा अब आगामी बैशाख १९ गतेबाट फिल्म प्रदर्शन हुने बिहीबार पोस्टर सार्वजनिक गर्दै जानकारी गराइयो । केही प्रतिशत छायांकन बाँकी रहेकाले पूर्वघोषित मितिमा फिल्म रिलिज गर्न नसकिएको निर्देशक यादवकुमार भट्टराईले बताए ।
नयाँ प्रदर्शन मितिसहित सार्वजनिक दुईवटा पोस्टरले पात्रहरुको मनोविज्ञान दर्शाउँछ । एउटा पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटी काखमा बच्चा च्यापेर भावुक देखिएकी छन् । यसले फिल्ममा उनी आमाको भूमिकामा रहेको बुझाउँछ । अर्को पोस्टरमा सुनील पोखरेलसहितका कलाकारहरु गम्भीर मुद्रामा चित्रित छन् । मानवीय संवेदनाको कथामा फिल्म बनेको पोस्टरले संकेत गर्छ ।
फिल्ममा भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकालको पनि अभिनय छ । मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार र समाजलाई पार्ने प्रभावको कथा फिल्मले भन्ने जनाइएको छ । निर्देशक भट्टराई ‘झिल्को’ बाल मनोविज्ञानमा आधारित पारिवारिक फिल्म रहेको दाबी गर्छन् ।
मिडिया फर कल्चरको प्रस्तुति रहेको फिल्मको पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरूणदेव जोशी र देवव्रतले तयार पारेका हुन् । यसका निर्माता सुशीला आचार्य र रामगोपाल थापा हुन् भने कार्यकारी निर्मातामा उमेश पौडेल रहेका छन् । फिल्ममा दीपक बज्राचार्यको छायांकन तथा चण्डीप्रसाद काफ्ले र दीपक शर्माको संगीत छ । निमेश श्रेष्ठले फिल्मलाई सम्पादन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्