प्रदीप एक्सन अवतारमा फिल्म ‘पिताम्बर’ मार्फत आगामी नयाँ वर्षको सम्मुख चैत २९ मा उदाउँदै
काठमाडौं, ७ पुस। मल्टीस्टारर फिल्म ‘पिताम्बर’ आगामी नयाँ वर्षको सम्मुखमा रिलिज हुने भएको छ । शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । केही दिनदेखि फागु पूर्णिमामा फिल्म रिलिज हुने चर्चा चलिरहेको थियो । तर, भर्खर मात्र छायांकन सकिएकाले पोस्ट प्रोडक्सनको काम नभ्याइने भएपछि फिल्मलाई चैत २९ मा पुर्याइएको हो ।
तर, उक्त मितिमा फिल्मलाई एकल रिलिजको अवसर भने मिल्ने छैन । यसअघि अभिनेता विपिन कार्की अभिनीत फिल्म ‘कर्मा’ले चैत २९ गतेलाई प्रदर्शन मिति तय गरिसकेको छ भने नयाँ वर्षको दिन ‘नरसिंहा’ र ‘बलिदान’ रिलिज हुने चर्चा छ । यद्यपि, यी दुई फिल्मले प्रदर्शन मिति घोषणा गरिसकेका छैनन् । रोचक कुरा के छ भने यी चारवटै फिल्म एक्सन प्रधान हुन् ।
‘पिताम्बर’को प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको पोस्टरमा ‘स्टार’ अभिनेतात्रय दयाहाङ राई, सौगात मल्ल र प्रदीप खड्का चित्रित छन् । दयाहाङ गम्भीर भावमा प्रहरीको पोशाकमा देखिएका छन् । सौगात भने मेशिनगन लिएर रिसाह भावमा प्रस्तुत छन् । उनको शरीर बलिष्ठ देखिन्छ । त्यस्तै, प्रदीप क्रुद्ध मुद्रामा छन् । उनको अनुहारबाट रगत बगिरहेको छ । पोस्टरको पृष्ठभूमिमा भने नरसंहारको दृश्य देखिन्छ । यसले बदलाको कथामा फिल्म बनेको संकेत गर्छ ।
कृषा चौलागाईंको निर्देशन रहेको फिल्ममा दयाहाङ, सौगात र प्रदीपसहित सुरक्षा पन्त, आर्यन सिग्देल, अनुपविक्रम शाही, दिव्या रायमाझी, दिव्य देव, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट लगायतको अभिनय छ । विशाल चौलागाईं निर्माता र सुमन गौतम कार्यकारी निर्माता रहेको फिल्मका छायाँकार पुरुषोत्तम प्रधान हुन् । उनी सह(निर्माता पनि हुन् । यसमा प्रदीप भारद्वाजको लेखन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्