कीर्तिमानको चाङ नै बनाएको ‘सारङ्गी’ले अर्को एउटा कीर्तिमान सबैभन्दा धेरै हलमा ५१ दिन मनाउन सफल

काठमाडौं, ५ पुस । गत कात्तिक १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को नाममा कीर्तिमानको चाङ नै लागेको छ । फिल्मले बनाएको सबैभन्दा ठूलो कीर्तिमानी घरेलु बक्स अफिसमा गरेको ऐतिहासिक कमाइ हो । यसले करिब ५० करोड कमाइसकेको छ । यसबीच, ‘सारङ्गी’ले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । त्यो हो, हालसम्मकै धेरै हलमा प्रदर्शनको ५१ दिन पूरा गर्नु ।

नेपाली फिल्मको हकमा दुर्लभ बनेको ५१ दिने यात्रा ‘सारङ्गी’ले शुक्रबार पूरा गरेको हो, त्यो पनि तीन दर्जन बढी हलमा । वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले देशभरका ३८ वटा हलमा ५१औं दिन मनाएको छ । यसअघि कुनै नेपाली फिल्मले यतिधेरै हलमा ५१औं दिन बनाएको थिएन । यसअर्थ ‘सारङ्गी’को नाममा अर्को कीर्तिमान दर्ज भएको छ ।

प्रदर्शनको ४२ दिनयता फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको छैन । यद्यपि, बिहीबारसम्म फिल्मको कमाइ पुगनपुग ५० करोड रहेको जानकारी प्राप्त छ । यो ग्रस कमाइ हो । यसबाट हल सञ्चालकको ५० प्रतिशत शेयर काटिन्छ । त्यसपछि वितरकको कमिशन र १८ प्रतिशत कर काटेर बाँकी रहेको रकम मात्र निर्माताको हातमा पर्छ । यसरी हेर्दा ‘सारङ्गी’को निर्माताले नेपालबाटै २० करोड पाउन सक्ने देखिन्छ ।

यो फिल्मले नेपालमा मात्र नभइ विदेशमा पनि उल्लेख्य कमाइ गरेको छ । अन्तर्राष्ट्रिय बजारबाट फिल्मले करिब २३ करोड व्यापार गरेको जनाइएको छ । नेपालसहितको व्यापार जोड्दा फिल्मको विश्वव्यापी कमाई ७० करोड नाघ्छ । यसले के देखाउँछ भने अब नेपाली फिल्म विश्वव्यापी सय करोड कमाउने अवस्थामा पुगिसकेको छ । यो अभूतपूर्व छलाङ हो ।

‘सारङ्गी’ले व्यापारमा कीर्तिमान बनाइरहँदा विवाद पनि सिक्वेल जसरी आइरहेको छ । कथा चोरीको आरोपदेखि फिल्मको निर्माण कम्पनीका सञ्चालकहरुबीचको विवाद छताछुल्ल भइसकेको छ । यसले गर्दा फिल्मले ५१ दिन मनाउँदा पनि टिमभित्र उत्साह देखिएको छैन । यद्यपि, केही दिनमा निर्माताले कलाकार तथा प्राविधिकहरुलाई बोनस बाँड्ने तयारी गरेको जानकारी प्राप्त छ ।

बाबु र छोराको भावनात्मक सम्बन्धको कथामा बनेको ‘सारङ्गी’मा अभिनेता विजय बराल मुख्य भूमिकामा छन् । यसले उनको करिअर नै कायापटल गरिदिएको छ । अहिले फिल्ममा उनको उच्च माग देखिएको छ । सरोज पौडेलको निर्देशनमा बनेको फिल्ममा प्रकाश सपूत, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायतको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्