यू-१९ महिला एसिया कप अन्तर्गतको खेलमा नेपाल पुग्यो सुपर फोरमा

काठमाडौं,२ पुस । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले अपराजित जारी राखेको छ ।

नेपाल भारचबीच मंगलबार भएको खेलमा नेपालले भारतसँग अंक बाँडेपछि नेपाल समूह चरणमा अपराजित रहेको हो । समूह चरणको दोस्रो खेलमा वर्षाका कारण नतिजा नआउँदा नेपाल र भारतले समान अंक बाँडेका हुन् ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ३.१ ओभरमा २८.० को अवस्थामा खेल्दा पानी परेपछि खेल रोकिएको थियो । खेल त्यसपछि सुरू हुन सकेन र नतिजा नआएपछि अंक बाँडेका हुन् ।

नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन् भने एलिसाकुमारी यादवले अविजित रहँदै २० रन बनाइन् ।

भारतका लागि परुनिका सिसोडियाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिएकी थिइन् ।

नेपालले सोमबार भएको पहिलो खेलमा पाकिस्तानलाई हराउँदै सुपर फोरमा स्थान बनाइसकेको थियो । पाकिस्तान भारतसँग पनि पराजित भएको थियो ।

नेपाल समूह बी मा दोस्रो स्थानमा रहेर सुपर फोरमा प्रवेश गरेको हो । भारतसँग अंक बराबर भएपनि नेटरनरेटमा नेपाल केही पछि पर्यो ।

अबको सुपर फोरमा भारत र नेपालसँगै श्रीलंका र बंगलादेश खेल्ने छन् । अंक तालिकामा शीर्ष स्थानमा रहेका दुई टोलीले फाइनल खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्