सेयर बजारमा बीमा कम्पनीको २८ अर्ब बढीको लगानी
काठमाडौं, १ पुस। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बीमा कम्पनीहरुको सूचीकृत पब्लिक कम्पनीको सेयरमा २८ अर्ब ९२ करोड ८० लाख रुपैयाँ लगानी रहेको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ९७.०४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म बीमा कम्पनीहरुको सेयरबजारमा १४ अर्ब ६८ करोड १४ लाख रुपैयाँ लगानी रहेको थियो ।
नेपाल बीमा प्राधिकरणले बीमकको लगानी सम्बन्धित निर्देशिका संशोधन गर्दै बीमकले सूचीकृत पब्लिक कम्पनीको सेयरमा कायम चुक्तापुँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरिदिएसँगै बीमा कम्पनीहरुको सेयरबजारमा लगानी बढेको हो । यसअघि ५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था रहेको थियो ।
यो अबधीमा निर्जीवनको तुलनामा जीवन बीमा कम्पनीहरुले बढी लगानी थपेको छ ।
जीवन बीमा कम्पनीहरुले सेयरबजारमा २४ अर्ब ८६ करोड रुपैयाँ लगानी गरेका छन् । यो गत आवको सोही अवधिसम्मको तुलनामा ११५.८८ प्रतिशत बढी हो । गत आवमा जीनव बीमकहरुले ११ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेका थिए ।
जीवन बीमा कम्पनीहरुमा राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीले उल्लेख्य लगानी बढाएका छन् । सर्वाधिक सिटिजन लाइफले ११४८.८८ प्रतिशतले सेयरबजारमा लगानी बढाएको छ ।
त्यस्तै निर्जीबन बीमा कम्पनीहरुले पहिलो त्रैमाससम्ममा ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेको छ । यो लगानी रकम गत आवको सोही अवधिसम्मको तुलनामा २८।.२ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म निर्जीवन बीमकहरुले ३ अर्ब १६ करोड ३४ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेका थिए ।
निर्जीवन बीमा कम्पनीहरुमा लगानी सानिमा जिआइसीले बढाएको छ । सानिमा जिआइसीले ४८८.६१ प्रतिशत लगानी बढाएको हो । यो अवधिमा लघुबीमा कम्पनीमध्ये भने लिबर्टी माइक्रो लाइफले १ करोड २६ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १३ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्