‘पूर्णबहादुरको सारङ्गी’ले ६ सातासम्म कमायो ४९ करोड २५ लाख, विश्वभर कति ?
काठमााडौं, २८ मंसिर । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को गति अझै थामिने छाँटकाँट छैन । सातौं हप्तामा पनि फिल्मले दैनिक ५ देखि १० लाख रुपैयाँसम्म कमाइरहेको छ ।
निर्माताले शुक्रबार फिल्मको छैटौं साता (४२ दिन)सम्मको ग्रस कलेक्सन सार्वजनिक गरेका छन् । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फिल्मले ६ सातासम्म देशव्यापी ४९ करोड २५ लाख २२ हजार ४०० रुपैयाँ ग्रस कमाएको छ ।
फिल्मले २८ दिनसम्म ४५ करोड ७४ लाख कमाएको थियो । पाँचौं सातामा २ करोड ९५ लाख ग्रस कमाएको थियो । छैटौं सातामा कमाइमा गिरावट आएर ५६ लाख ग्रस कमाएको छ । वितरक मनोज राठीले फिल्मको लाइफटाइम कलेक्सन ५० करोड पुग्ने प्रक्षेपण गरे ।
‘अहिले पनि दैनिक धेरैथोर कमाइरहेको छ । सप्ताहन्तको जोड्दा कमाइमा वृद्धि हुने देखिन्छ । ५० करोडको आँकडा हाम्रो प्रक्षेपण छ’ राठीले भने ।
निर्माता कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले २९ नोभेम्बरसम्मको अन्तर्राष्ट्रिय बजारको कमाइ सार्वजनिक गरेको थियो । सात विदेशी बजारबाट फिल्मले सो अवधिसम्म २३ करोड ३५ लाख रुपैयाँ ग्रस (करिब १७ लाख ३० हजार अमेरिकी डलर) कमाएको विवरण सार्वजनिक भएको थियो ।
यसरी नेपालको ६ साता र विदेशको बक्स अफिस हिसाब जोड्दा अहिलेसम्म ‘पूर्णबहादुरको सारङ्गी’को विश्वव्यापी कलेक्सन ७२ करोड ६० लाख २२ हजार ४०० (करिब ५.३३ मिलियन अमेरिकी डलर) हुन आउँछ ।
सरोज पौडेल निर्देशित यस फिल्मले बाबुछोराको भावनात्मक सम्बन्धको कथा भन्छ । विजय बराल, अञ्जना बराइली, प्रकाश सपुत र बालकलाकार स्वयं केसीको मुख्य भूमिका रहेको फिल्मलाई सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्