कर्णाली प्लेअफ नजिक, लुम्बिनी अन्तिम खेलमा पराजित

काठमाडौं,२८ मंसिर । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले शुक्रबार लुम्बिनी लायन्सलाई ५ रनले पराजित गरेको छ ।
कर्णाली याक्सलले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो । कर्णालीले उत्कृष्ट बलिङ गरेपछि लुम्बिनी ५ रनले हार ब्यहोरेको हो ।

जितपछि कर्णाली प्लेअ नजिक पुगेको छ । यसअघि नै लिग चरणबाट बाहिरिएको लुम्बिनी भने अन्तिम खेलमा पनि पराजित भएको छ ।

लुम्बिनीले लिगको सबै सात खेल खेलिसक्दा एक खेल मात्र जित्न सक्यो । लगातार चौथो जित हात पारेको कर्णाली ६ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । अब कर्णालीले लिगको अन्तिम खेल आउने सोमबार सुदूरपश्चिम रोएल्ससँग खेल्नेछ ।
लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन बनाउँदा सन्दिप जोराले २४ तथा आशुतोष घिरैया र साद विन जफरले समान १६ रन जोडेका छन् ।

बलिङमा कर्णालीका जिसान मक्सुदले २ तथा कप्तान सोमपाल कामी, ननुदन यादव, विपिन शर्मा र विलियन बोसिस्टोले १/१ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो ।

विलियम बोसिस्टोले कर्णालीका लागि सर्वाधिक ४४ रन बनाए । ३० बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे हुन् । अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन बनाए ।

लुम्बिनीका लागि विकास आग्रीले ३ तथा तिलक भण्डारीले २ विकेट लिए थिए ।

प्रतिक्रिया दिनुहोस्