नेपाल प्रिमियर लिगको प्लेअफमा पुग्ने पहिलो टोली बन्यो जनकपुर बोल्ट्स
काठमाडौं,२७ मंसिर । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।
काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै पाँचौं जित हात पारेको जनकपुरले लिगको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको छ ।
जनकपुरले ६ खेल खेल्दा ५ जितसहित १० अंक जोडेर शीर्ष स्थानमा छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा काठमान्डुले दिएको १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।
जनकपुरको जितमा जीमी नीशमले १७ बलमा १ चौका र ३ छक्काको मद्तमा सर्वाधिक २७ रन बनाए थिए । त्यस्तै, हर्श थाकरले अविजित २५ रन योगदान गरे । उनले २५ बल खेल्दा १ चौका र १ छक्का प्रहार गरे ।
लाहिरु मिलान्थाले १६ र कप्तान अनिल साहले ११ रन बनाए भने मोहम्मद मोहसिनले १३ रन जोडे । बलिङमा काठमान्डुका करण केसीले २ तथा शाहब आलम, जेर्राड एरासमस रदिपेश कँडेलले समान १ विकेट लिएका थिए ।
जनकपुरका ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु जनकपुरको धारिलो बलिङ सामु टिक्न नसक्दा १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट भयो ।
काठमान्डुका लागि जेरार्ड एरासमसले सर्वाधिक २०, करण केसील १९ र स्टेफेन इसक्नाजीले १७ रन बनाए थिए । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा जनकपुरका लागि ललितले ४ ओभरमा २ मेडन राख्दै ८ रन मात्र खर्चेर ३ विकेट लिए । शेर मल्लले ३.३ ओभरमा ११ रन खर्चेर ३ विकेट, मोहम्मद मोहसिनले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए ।
यस खेलमा जनकपुरका कप्तान अनिल शाहले ५ क्याच लिए । उनले नपालको फ्रेन्चाइज लिगमा एकै खेलमा ५ क्याच गर्ने कीर्तिमान खेलाडी बने ।
प्रतिक्रिया दिनुहोस्