केदार घिमिरे ‘माग्ने बुढो’ अब वर्षाको जोडी बाधिएर ‘माग्ने राजा’ फिल्ममा देखिदै

काठमाडौं,२७ मंसिर । अभिनेत्री वर्षा सिवाकोटीका लागि यस वर्ष सुखद् नै देखिएको छ । गत साउनमा आएको फिल्म ‘मोदीबेनी’ असफल भए पनि दशैंमा रिलिज भएको उनको फिल्म ‘छक्का पञ्जा ५’ ब्लकबस्टर सावित भयो । फिल्म सफल हुँदा त्यसको जस उनले पनि पाइन् । यसपछि उनलाई फिल्म अफरको चाप बढेको छ । यसैबीच, उनले नयाँ फिल्म ‘माग्ने राजा’ सम्झौता गरेकी छन् ।

यसमा उनको जोडी हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’सँग बाँधिनेछ । यसअघि उनीहरुले फिल्म ‘छक्का पञ्जा ५’मा एकसाथ काम गरेका थिए । तर, त्यसमा वर्षाको जोडी भने अभिनेता दीपकराज गिरीसँग बाँधिएको थियो । अब दोस्रोपटक केदारसँग काम गर्न लागेकी वर्षा फिल्मलाई लिएर उत्साहित देखिएकी छन् । केदारसँग उनको ‘स्क्रिन केमेस्ट्री’ निकै रोचक हुने देखिन्छ ।

ऋषि लामिछानेको निर्देशनमा बन्न लागेको फिल्ममा केदार र वर्षाबाहेक अरु कलाकार निश्चित भएका छैनन् । एउटा महत्त्वपूर्ण भूमिकाका लागि अभिनेता दयाहाङ राईलाई प्रस्ताव गरिएको जानकारी प्राप्त छ । आगामी फागुन १ गतेबाट छायांकनमा निस्किन लागेको फिल्मलाई मुनाल घिमिरेले निर्माण गर्नेछन् । यसमा सामीप्यराज तिमल्सेनाको लेखन छ ।

‘माग्ने राजा’को कथा केदारमा केन्द्रित हुनेछ । यसअर्थ उनलाई फिल्मको हिरो भन्न सकिन्छ । पहिलो पटक उनी फिल्ममा शीर्ष भूमिकामा देखिन लागेका हुन् । यसका लागि उनले ५० लाख पारिश्रमिक बुझेको चर्चा छ । यतिबेला उनले ‘छक्का पञ्जा’ समूह बाहिरका एकपछि अर्को फिल्म सम्झौता गरिरहेका छन् । अहिले उनको पाइपलाइनमा मात्र ‘माग्ने राजा’सहित तीन फिल्म छन् ।

प्रतिक्रिया दिनुहोस्