सौगात मल्ल अभिनित फिल्म ‘बम बहादुर’ लाई दार्जिलिङ प्रिमियरमा प्रशंसाको ओइरो
काठमाडौं,२५ मंसिर । आगामी पुष ५ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बम बहादुर’को भारतस्थित दार्जिलिङ शहरमा प्रिमियर गरिएको छ । आइतबार दार्जिलिङको गोर्खा रंगमञ्चमा भएको प्रिमियरमा फिल्मले अब्बल प्रतिक्रिया प्राप्त गरेको निर्देशक जोन राईले बताए । फिल्म हेरेका कतिपय दर्शकले आफ्नै भोगाइ र संघर्ष पर्दामा आएकोमा खुसी व्यक्त गरेका थिए ।
ओख्ली ढिकी प्रोडक्सनले आयोजना गरेको प्रिमियरमा फिल्मका निर्देशकदेखि कलाकारहरुलाई सम्मान समेत गरिएको थियो । फिल्म ‘बलिदान’को छायांकनमा व्यस्त भएकाले अभिनेता सौगात मल्ल भने प्रिमियरमा उपस्थित हुन सकेनन् । अनिशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिस्ट कार्की, प्रभात पाख्रिन लगायत प्रिमियरमा सहभागी थिए ।
‘बम बहादुर’ले दार्जिलिङ र डुअर्स क्षेत्रमा बस्ने नेपाली समुदायले गरेको ऐतिहासिक सङ्घर्षलाई चित्रण गर्ने निर्देशक राईले बताए । १९८० को दशकमा भएका घटनाहरूमाथि फिल्म आधारित रहेको उनको भनाई छ । उनी फिल्मलाई भारतका नेपाली समुदायले गरेको सङ्घर्षको डिजिटल दस्तावेजको रुपमा व्याख्या गर्छन् ।
बिस्ट ब्रदर्स फिल्म्सको निर्माणमा बनेको फिल्मका निर्माता सञ्जीव सार्की हुन् । लाइन प्रोड्युसरमा भने प्रकाश हमाल छन् । जोन राई र रुपेश तामाङको कथा र पटकथा लेखन रहेको फिल्ममा सुजोय कुमार घोष ‘मुन्ना’को छायाङ्कन तथा ज्ञान गुरुङको सम्पादन छ । यसमा संगीत दीपङ्कर सिंह मुखियाको रहेको छ भने म्यूजिक एरेन्जमेन्ट र ब्याकग्राउन्ड स्कोर इजाज अलीले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्