लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

काठमाडौं, २१ मंसिर। कप्तान रोहित पौडेलको ९५ रनको मद्दतमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको हो ।

अन्तिम बलमा रनआउट हुनुअघि रोहितले ५९ बल खेल्दै १० चौका र ४ छक्का मद्दतमा ९५ रन बनाएका थिए । अन्तिम दुई बल बाँकी छँदा रोहित ९४ रनमा खेलिरहेका थिए ।

तर अन्तिम ओभरको पाँचौ बलमा सिंगल लिएपछि रोहित शतक बनाउने पहिलो खेलाडी बन्नबाट चुके । अन्तिम बलमा ३ रन लिने चक्करमा दौडिएका रोहित रनआउट भए ।

यस्तै टम मुर्सले ३८ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा ४५ रन जोडे ।

रोहित र टम मुर्सले चौथो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरे ।

दुई ओपनर आशुतोष घिरैया र उन्मुक्त चन्द शून्यमा आउट भएपछि रोहित र मुर्सले इनिङ्स सम्हालेका थिए ।

सन्दिप जोराले १५ बलमा २ चौका र १ छक्का प्रहार गरी १८ रन बनाए ।

पोखराका विपिन खत्रीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । म्याट क्रिटलेले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्