एनपीएल: कर्णाली याक्स र काठमान्डु गर्खाज र विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै

काठमाडौं, १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को आज चौथो दिन पनि दुई खेल हुँदैछन् ।

पहिलो खेल कर्णाली याक्स र काठमान्डु गर्खाज तथा दोस्रो खेल विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच हुनेछ । दुवै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

कर्णाली र काठमान्डुबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । दुवै टोलीले यसअघि पहिलो खेलमा हार व्यहोरेकोले पहिलो जित निकाल्ने लक्ष्यमा छ । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । अर्कोतर्फ काठमान्डु चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्स र करण केसीको कप्तानीमा रहेको काठमान्डुबीच खेल रोमाञ्चक हुने अपेक्षा छ ।

कर्णालीमा भारतीय स्टार क्रिकेटर शिखर धवन छन् । उनको आगमनले कर्णाली र एनपीएलकै चर्चा बढाएको छ । तर पहिलो खेलमा जनकपुरविरुद्ध भने धवनको ब्याट चलेन । उनले १३ बलमा जम्मा १४ रन बनाएर आउट भएका थिए ।

कर्णाली र काठमान्डु दुवैमा नेपालमा खेलिसकेका खेलाडीहरु पनि छन् । कर्णालीमा धवनबाहेक नेपालमा धेरै खेल खेलेका हङकङका बाबर हायत र ओमानका जिसान मक्सुद छन् । काठमान्डुमा नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका कप्तान जेरार्ड एरासमस छन् ।

यसैगरी यसअघिका दुवै खेलमा पराजित विराटनगर किंग्स लुम्बिनीसँग खेल्दा दबाबमा हुनेछ । सन्दीप लामिछानेको कप्ताद्दीमा रहेको विराटनगर यसअघि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्ससँग पराजित भइसकेको छ । न्युजिल्याण्डका स्टार ब्याटर मार्टिन गप्टिल विराटनगर टिममा छन् । पहिलो खेलमा अर्धशतक हानेको उनी दोस्रो खेलमा खाता नखोली आउट भएका थिए ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी भने पहिलो खेल खेल्दैछ र विजयी सुरुवात गर्न चाहन्छु । लुम्बिनीको टिममा चर्चित अष्ट्रेलियन अलराउण्डर बेन कटिङ छन् भने सन् २०१२ मा भारतलाई यू१९ विश्वकप विजेता बनाउने कप्तान उन्मुक्त चन्द पनि छन् । यस्तै क्यानडाका साद बिन जफर, इंग्ल्याण्डका टम मुर्स र बार्बाडोसका रामोन सिमोन्ड्स पनि छन् ।

प्रतिक्रिया दिनुहोस्