काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा ५ टिम सहभागी

काठमाडौं, १४ मंसिर । आगामी मंसिर २२ गतेदेखि काठमाडौंमा सुरू हुने काभा पुरुष भलिबल च्याम्पियनसीपमा पाँच टोलीहरूले खेल्ने भएका छन् । प्रतियोगितामा दुई नेपाली र तीन विदेशी गरी पाँच टिम सहभागी हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

नेपालबाट एनभिए लिग विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र उपविजेता गण्डकी प्रदेशले सहभागिता जनाउने छन् । त्यसैगरी ईरानबाट चादौर मालो क्लब, भारतबाट कालिकट हिरोज र माल्दिभ्सबाट एचडीसी क्लबले सहभागिता जनाउने छन् ।

प्रतियोगिताका लागि करिब १ करोड खर्च हुने र राष्ट्रिय खेलकुद परिषदबाट २५ लाख अनुदान प्राप्त गर्ने नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

काभा पुरुष क्लब भलिबल पहिलोपटक हुन लागेको हो । नेपालमा यस वर्ष आयोजना हुन लागेको यो दोस्रो काभा प्रतियोगिता हो । यसअघि काभा वुमन्स नेसन्स लिग आयोजना भएको थियो ।

काभा महिला क्लब च्याम्पियनसिप माल्दिभ्समा भएको थियो । त्यसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो । काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप पनि नेपाली क्लबले नै जित्ने आशा गरिएको छ ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दले ८ देखि १० क्लब सहभागी हुनुपर्ने भएपनि उज्बेकिस्तान र कीर्जिगिस्तान भने एअरपोर्ट बन्द भएको र खर्च बढी भएकोले सहभागी हुन नसकेको जनाए ।

५ टिमबीच राउण्ड रोविन लिगको आधारमा खेलहरू हुनेछन् भने शीर्ष चार टिमले सेमिफाइनल खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्