अकुपेन्सी बढाउँदै ‘तेल भिसा’, बुधबारको व्यापारमा सुधार, समसामयिक उत्कृष्ट कथावस्तु, सकारात्मक ‘वर्ड अफ माउथ

काठमाडौं, १२ मंसिर । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘तेल भिसा’को सुरुवाती व्यापार अपेक्षित हुन सकेन । पहिलो दिन नै देशभर अकुपेन्सी कमजोर रह्यो । शनिबार व्यापारमा केही सुधार देखिए पनि त्यो उत्साहप्रद थिएन । आइतबार फिल्मको अकुपेन्सी दरमा झनै गिरावट देखियो । तर, सुरुवाती व्यापार अपेक्षित नभए पनि सकारात्मक ‘वर्ड अफ माउथ’को प्रभाव विस्तारै देखिन थालेको छ ।

सोमबारदेखि फिल्मलाई प्राप्त शोमा अकुपेन्सी बढेको छ । बुधबार फिल्मको व्यापारमा अझ सुधार हुने देखिन्छ । काठमाडौंका एफक्युब, बिग मुभिज, वान सिनेमाज्, सिके सिनेमाज्, क्यूएफएक्सको भाटभटेनी, लबिम, आईएनआइको एनवी सेन्टर, मिडटाउन (पोखरा), सिनेरोयल (नेपालगञ्ज) जस्ता हलमा दिउँसोदेखि साँझसम्मका शोमा बुकिङको अवस्था राम्रो देखिएको छ ।

तर, सुरुवाती व्यापार बलियो नहुँदा फिल्मले धेरै शो गुमाइसकेको छ । अब बाँकी शोलाई जोगाएर राख्नुपर्ने चुनौती फिल्मलाई छ । ‘वर्ड अफ माउथ’को प्रभावले विस्तारै दर्शक बढ्न थालेपछि निर्माण टिममा पनि आशा जाग्न थालेको छ । अर्को साता ठूलो स्वदेशी र विदेशी फिल्म नभएकाले ‘तेल भिसा’लाई व्यापारिक रफ्तार बढाउन चुनौती भने देखिँदैन ।

प्रदर्शनको दिनदेखि फिल्मका शीर्ष अभिनेता विपिन कार्कीले काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका छन् । र, दर्शकबाट प्राप्त प्रतिक्रियाले उनी उत्साहित देखिन्छन् । फिल्ममा उनी बाबु र छोराको भूमिकामा प्रस्तुत छन् । यसकारण पनि उनका लागि ‘तेल भिसा’ निकै विशेष थियो । उनलाई छोराभन्दा बुबाको भूमिकामा दर्शकले बढी रुचाएका छन् ।

फिल्मबाट सबैभन्दा बढी वाहवाही भने अभिनेत्री पूजा चन्दको भइरहेको छ । उनले आमाको भूमिकामा उम्दा अभिनय गरेकी छन् । हलमा दर्शकलाई बाँधिराख्ने नै उनको अभिनयले हो । अर्की अभिनेत्री ऋचा घिमिरे पनि फिल्ममा प्रभावशाली देखिएकी छन् । छोराको सन्तान हुन लागेपछि नेपालबाट अमेरिका गएकी एक आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा फिल्मले उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्