पल र दीपिकाको ‘मायावी’ महाशिवरात्रिमा
काठमाडौं, १० मंसिर। अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईं अभिनीत फिल्म ‘मायावी’को प्रदर्शन मिति एकपटक फेरि हेरफेर भएको छ । गत कात्तिक १५ गतेबाट पोस्टपोन्ड भएर आगामी पुष २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएकोमा अब फिल्मलाई डेढ महिना पछाडि सारिएको छ । आइतबार एक पोस्टरमार्फत् आगामी फागुन १४ गते ९महाशिवरात्रि०लाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो ।
खासमा यसका निर्देशक दीवाकर भट्टराई महाशिवरात्रिमा आफ्नो नयाँ फिल्म ‘नरसिंहा अवतार’ प्रदर्शन गर्ने तयारीमा थिए । तर, यसको छायांकन र पोस्ट प्रोडक्सनमा समय लाग्ने भएपछि उनले ‘मायावी’ रिलिज गर्न लागेका हुन् । फागुन १४ गते फिल्मलाई सोलो रिलिजको अवसर भने मिल्ने छैन । यसअघि नै यो मिति फिल्म ‘लाज शरणम्’ले ‘बुक’ गरिसकेको छ भने त्यसको दुई दिनपछि अर्थात् फागुन १६ मा ‘होस्टेल ३’ पनि आउँदैछ ।
‘मायावी’को सार्वजनिक पहिलो पोस्टरमा पल र दीपिका प्रस्तुत छन् । जसमा समावेश दुई तस्वीरमध्ये एउटामा उनीहरु रोमान्टिक भावमा चित्रित छन् भने अर्कोमा पल भावुक देखिएका छन् । पृष्ठभूमिमा टल्किरहेको हिमालसहित फेवाताल र त्यहाँ तैरिएका एक जोडी डुंगा देख्न सकिन्छ । पोस्टरले फिल्मको कथा प्रेम र वियोगमा केन्द्रित रहेको संकेत गर्छ ।
निर्देशक भट्टराई स्वयंको लेखन रहेको फिल्मको निर्मातामा राज कटुवाल, चन्द्र पन्त र ध्रुव न्यौपाने छन् । यसमा प्रशान्त ताम्राकार, सुशील सिटौला, लक्ष्मी गिरी, राजाराम पौडेल, करिश्मा श्रेष्ठ, अंशु महर्जन, रवि डंगोल लगायतको पनि अभिनय छ । राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर तथा शम्भुजित बाँस्कोटा र एसडी योगीको संगीत छ ।
प्रतिक्रिया दिनुहोस्