युक्रेनमा भएको मिसाइल प्रयोगलाई पुटिनले बनाए खुकुलो

काठमाडौं, ५ मंसिर । युक्रेनलाई रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न राष्ट्रपति जो बाइडेनले अनुमति दिएपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्ने सीमा घटाएका छन्।

युक्रेनले आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (अट्याक एम्स) भनिने लामो दुरीका हतियार रूसी भूमिभित्र प्रयोग गर्ने अनुमति तीन दिनअघि नै दिएको भनेर विभिन्न पश्चिमा मिडियाले आइतबार जनाएका थिए।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले धेरै अघिदेखि रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न अनुमति मागिरहेका थिए। तर त्यस्तो अनुमति दिए रूसले पश्चिमाहरूमाथि नै प्रहार गर्ने वा युक्रेनमाथि आणविक हतियार प्रयोग गर्न सक्ने डरका कारण बाइडेनले अनुमति दिएका थिएनन्।

रूसले युक्रेनमाथि हमला गरेको १००० दिन पुगेको अवसर पारेर मंगलबार युक्रेनले ती हतियारले रूससँगको सीमाबाट करिब ११० किलोमिटर टाढा रहेको हतियार भण्डारमा प्रहार गर्‍यो। त्यसै दिन रूसले आणविक हतियार प्रयोग गर्ने नीति पुनरावलोकन गर्दै प्रयोग गर्ने सीमा घटाएको हो।

युक्रेनले भर्खरै प्रयोग गर्ने अनुमति पाएको हतियार चलाउन अमेरिकी खुफिया सूचनाका साथै प्राविधिक सहयोग पनि चाहिने भएकाले त्यस्ता हतियार रूसभित्र प्रयोग भए अमेरिकाले युद्धमा प्रत्यक्षरूपमा भाग लिएको मानिने भनेर रूसले भन्दै आएको थियो।

अमेरिकाले ती हतियार प्रयोग गर्न अनुमति दिएपछि चार वर्षअघि मात्रै अद्यावधिक गरिएको आणविक हतियार प्रयोग गर्ने नीति रूसले फेरि संशोधन गरेको छ। आणविक हतियार प्रयोग गर्ने नीति फेरि संंशोधन गर्ने घोषणा पुटिनले गत सेप्टेम्बरमा गरेका थिए।

अद्यावधिक गरिएको नीतिअनुसार परम्परागत हतियारले रूस वा रूसको छिमेकी बेलारूसमा गरिएको हमलाले रूसको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गम्भीर खतरा उत्पन्न भए आणविक हतियार प्रयोग गर्ने अधिकार रूससँग रहन्छ।

रूसी भाषीको बाहुल्यता रहेको बेलारूसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोले आफ्नो सत्ता जोगाउनका लागि आफ्नो भूमि रूसी सेनालाई प्रयोग गर्न दिएका छन्।

पश्चिमा मिडियाका अनुसार नयाँ नीति पहिलेकोभन्दा मुख्यतः दुई तरिकाले फरक छ।

पहिलो, आणविक हतियार भएको राष्ट्रले सिधै रूसमा प्रहार नगरे पनि उसले आणविक हतियार नभएको देशलाई रूसमा हमला गर्न सहयोग गर्‍यो भने आणविक हतियार प्रयोग गर्न सकिनेछ। यसको मतलब आणविक हतियार भएका अमेरिका लगायत पश्चिमा राष्ट्रले आणविक हतियार नभएको युक्रेनलाई रूसमाथि प्रहार गर्न सहयोग गर्‍यो भने रूसले आणविक हतियार प्रयोग गर्न सक्नेछ। यसअघिको नीति आणविक हतियार भएका राष्ट्रले गरेको हमलामा मात्रै केन्द्रित थियो।

अर्को, आणविक हतियार प्रयोग गर्न सकिने सीमा पनि यसले घटाएको छ। चार वर्ष अघि अद्यावधिक गरिएको नीतिअनुसार परम्परागत हतियारले गरिएको हमलाले रूसको अस्तित्वमै खतरा भए मात्रै आणविक हतियार प्रयोग गर्न सकिन्थ्यो। तर नयाँ नीतिअनुसार रूसमाथि गम्भीर खतरा मात्रै उत्पन्न भए पनि प्रयोग गर्न सकिनेछ।

रूसले आणविक हतियार प्रयोग गर्ने सीमा घटाएको घटनालाई अमेरिकाले भने खासै महत्व दिएको छैन।

रूस र अमेरिका दुवैले आफ्ना आणविक हतियार गोप्य ठाउँमा राख्छन्। तर अर्को पक्षले आणविक हतियार कहाँ राख्छ भनेर दुवैले हेरिरहेका हुन्छन्। आफूमाथि आणविक हमला हुन लागेको थाहा पाउन उनीहरूले ती ठाउँमा सुक्ष्म रूपमा निगरानी गर्छन्।

रूसले आणविक हतियार प्रयोग गर्ने नीति अद्यावधिक गरेपछि एक विज्ञप्ति जारी गर्दै अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदले रूसको आणविक मान्यतामा केही परिवर्तन नदेखेको प्रतिक्रिया जनाएको छ।

उत्तर कोरियाका १० हजारभन्दा बढी सैनिक रूसका तर्फबाट लड्ने पक्का भएपछि बाइडेनले रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न युक्रेनलाई अनुमति दिएका थिए।

युक्रेनले कब्जा गरेको रूसको कुर्स्क क्षेत्रको भूमि फिर्ता गर्न तयारी गरिरहेका रूसी(उत्तर कोरियाली सैनिक र उनीहरूले प्रयोग गर्ने हतियारको भण्डारस्थल लगायत ठाउँमा ती हतियार प्रयोग गरिने अमेरिकी अधिकारीहरूको हवाला दिँदै ती मिडियाले लेखेका थिए।

थप सैनिक पठाउनुअघि उत्तर कोरिया हच्कियोस् भनेर अमेरिकाले अनुमति दिएको मानिन्छ।

यी हतियारले ३७५ पाउण्डसम्मको बम १९० माइल टाढासम्म प्रहार गर्न सक्छन्। अमेरिकाले पहिल्यै दिएको हाइमार्स हतियारको लन्चर र त्योभन्दा पुराना बेलायती र जर्मन एम२७० लन्चरले समेत यिनलाई प्रहार गर्न मिल्नेछ।

यतिको दुरीसम्म प्रहार गर्ने अरू कुनै पनि हतियार हाल युक्रेनसँग छैन। युक्रेनले गत वर्षको अन्त्यमा रूसले कब्जा गरेको युक्रेनी भूमि क्राइमियामा अट्याक एम्स प्रयोग गरेर रूसलाई ठूलो क्षति पुर्‌याएको थियो। अब यी हतियार युक्रेनले रूसी भूमिभित्र पनि प्रयोग गर्नेछ।

रिपब्लिकन पार्टीबाट भर्खरै निर्वाचित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्न दुई महिनामात्रै बाँकी हुँदा बाइडेनले यो अनुमति दिएका हुन्।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राम्रो सम्बन्ध भएका ट्रम्पले चुनाव प्रचारका क्रममा आफूले जिते रूस–युक्रेन युद्ध २४ घण्टाभित्रै रोकिदिने घोषणा गरेका थिए। कसरी युद्ध रोक्ने भन्ने उनले विस्तृत रूपमा नखुलाए पनि उनले युक्रेनलाई दिइरहेको सैन्य सहायता रोक्ने धम्की दिएर युक्रेनलाई पुटिनको सर्त मान्न दबाब दिने अनुमान गरिएको छ।

हाल जुन(जुन ठाउँमा जजसले कब्जा गरेको छ ती ठाउँ तत्(तत् देशको नियन्त्रणमा रहने गरी शान्ति सम्झौता गर्न ट्रम्पले प्रस्ताव गर्ने मानिन्छ। अहिले रूसको नियन्त्रणमा रहेको भूमि माया मार्न युक्रेनले नमाने उनले सैन्य सहायता रोक्ने धम्की दिने अपेक्षा गरिएको छ। जर्मनी लगायत केही युरोपेली देश पनि लगातार युक्रेनलाई सहायता दिनु परेर थाकेकाले त्यस्तो शर्तमा युद्ध रोक्ने पक्षमा रहेको देखिन्छ।

त्यसो भए कुर्स्क क्षेत्रबाट युक्रेनी सेना लखेट्न नसके दोस्रो विश्वयुद्धपछि पहिलो पटक कुनै राष्ट्रले कब्जा गरेको रूसी भूमि युक्रेनको भागमा पर्ने छ। त्यसैले पुटिन कुनै पनि हालतमा कुर्स्क क्षेत्रबाट युक्रेनी सेनालाई धपाउन चाहन्छन्। त्यसैले आफ्ना धेरै सैनिक हताहत भइरहेका बेलामा उनले उत्तर कोरियाली सेना गुहारेका हुन्।

ढिलो गरी दिइएको लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्ने अनुमतिले रूससँगको युद्धको नतिजामै फरक नपारे पनि युक्रेनलाई कुर्स्क क्षेत्रको रूसी भूमि आफ्नो कब्जामा राखिरहन मद्दत पुग्नेछ।

शान्ति सम्झौताका लागि वार्तामा बस्दा आफ्नो भूमि युक्रेनी नियन्त्रणमा रहिरहे पुटिनले आफ्नो नियन्त्रणमा रहेका सबै युक्रेनी भूमिमाथि दाबी गर्न अप्ठ्यारो हुनेछ। रूसलाई विगतको जस्तो शक्तिशाली बनाउने उद्घोष गरेका पुटिनका लागि रूसी भूमि युक्रेनमा गाभिनु लज्जास्पद हुनेछ। त्यसैले थोरै रूसी भूमिको बदलामा आफ्नो धेरै भूमि फिर्ता पाउने युक्रेनले आकलन गरेको छ।

अमेरिकी राष्ट्रपति बाइडेनले मे महिनाको अन्त्यमा मात्रै अमेरिकी हतियार प्रयोग गरेर रूसी भूमिमा आक्रमण गर्न युक्रेनलाई अनुमति दिएका थिए।

अमेरिकाले हतियार दिँदा युक्रेनलाई आफ्नो हतियार रूसी भूमिभित्र प्रयोग नगर्ने सर्त राखेर दिने गर्थ्यो। सो अनुमति पाउनुअघि त्यसैअनुसार रूसले कब्जा गरेको आफ्नो भूमिभित्र मात्रै युक्रेनले रूसी सेनामाथि आक्रमण गर्न अमेरिकी हतियार प्रयोग गर्थ्यो। अमेरिकाले मे महिनामा अनुमति दिँदा पनि खार्किभ वरिपरि जम्मा भएर आक्रमण गरिरहेका र गर्न लागेका सेनामाथि मात्रै प्रयोग गर्ने सर्तमा दिएको थियो।

तर युक्रेनी सेनाले अगस्ट ६ मा रूससँगको उत्तरपूर्वी सीमा पार गरेर कुर्स्क क्षेत्रमा रूसी भूमि कब्जा गर्‍यो। अमेरिकालाई जानकारी समेत नदिई योजना बनाइएको यो आक्रमणका क्रममा युक्रेनले अमेरिका र युरोपका अरू देशमा बनेका हतियार समेत प्रयोग गरेको थियो।

युक्रेनलाई आधुनिक हतियार प्रयोग गर्न दिए रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्ने डर अमेरिकालाई थियो। अमेरिकाले त्यही कारण देखाउँदै हतियार प्रयोग गर्न अनुमति दिएको थिएन। तर रूसी भूमिसमेत कब्जा गर्दा पनि आणविक हतियार प्रयोग नगरेको भन्ने तर्क अमेरिकासमक्ष राखेर युक्रेनले लामो दुरीको हतियार रूसभित्र प्रयोग गर्न अनुमति मागिरहेको थियो।

अमेरिकाले भने मे महिनाको अन्त्यमा रूसभित्र प्रहार गर्ने अनुमति दिएलगत्तै रूसले आफ्ना लडाकू विमान र आधुनिक हतियारको भण्डारस्थल युक्रेनसँग भएका अमेरिकी हतियारको पहुँचभन्दा धेरै टाढा सारिसकेको औंल्याउँदै आएको थियो। अझ भित्र प्रहार गर्ने अनुमति दिए पनि खासै फरक नपर्ने उसले तर्क गर्दै आएको थियो।

तर युक्रेनले रूसी वायुसेनाको हवाई अड्डा, हतियार भण्डारसँगै सैनिक ब्यारेक, तेल डिपो, प्रशोधन केन्द्र लगायत सामरिक महत्वका स्थानमा अमेरिकी हतियारले प्रहार गरे रूसलाई अप्ठ्यारो पर्ने जिकिर गर्दै आएको थियो।

अमेरिकाले भने अन्य स्थानमा अहिलेझैं युक्रेनले आफूले बनाएका ड्रोन र मिसाइलले हमला गर्न सुझाएको थियो। तर युक्रेनले अमेरिकी हतियार प्रयोग गर्न पाए त्यस्ता हमला अझ प्रभावकारी हुने बताउँदै आएको थियो।

अहिले युक्रेनलाई रूसभित्र बिना रोकटोक अमेरिकी हतियारले प्रहार गर्न दिए रूससँग अमेरिकाको सम्बन्ध धेरै बिग्रिने अमेरिकी रक्षा मन्त्रालय र खुफिया संस्थाहरूले बताउँदै थिए। ढिलो(चाँडो रूस(युक्रेन युद्ध रोकिएपछि रूससँगको सम्बन्ध सुधार गर्न अमेरिकालाई मुस्किल हुने भन्दै उनीहरूले युक्रेनलाई त्यस्तो अनुमति दिन नहुने बताइरहेको मानिन्छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले लामो समयदेखि रूसको अझै भित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न अनुमति मागिरहेका थिए। अमेरिका लगायत पश्चिमा राष्ट्रसामु उनले प्रस्तुत गरेको विजयको योजनामा पनि रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न अनुमति मागिएको छ।

युक्रेनले रूसको कुर्स्क क्षेत्रमा सफलता हात पारेपछि प्रहार गर्ने ठाउँहरूको सूची नै बनाएर रूसको अझै भित्र अमेरिकी हतियार प्रयोग गर्न अमेरिकाको अनुमति मागेको थियो। यो सफलतापछि रूसको अझ भित्र आक्रमण गर्न युक्रेनले अनुमति मागिरहेको थियो।

बेलायत लगायत अरू युरोपेली देशहरू पहिलेदेखि नै युक्रेनलाई त्यस्तो अनुमति दिने पक्षमा थिए। जर्मनी भने अमेरिका जस्तै त्यसको विपक्षमा थियो। अमेरिकाले आफ्नोमा बनेका पाटपुर्जा प्रयोग भएका हतियार समेत रूसभित्र प्रयोग गर्न रोक लगाएकाले बेलायत, फ्रान्सलगायत अरू युरोपेली देशहरू अनुमति दिने पक्षमा भए पनि त्यहाँ बनेका हतियार समेत युक्रेनले प्रयोग गर्न पाएको छैन।

अमेरिकाले पहिल्यै दिइसकेको हाइमार्स हतियार समेत रूसको अझै भित्र प्रयोग गर्न समेत रोकिरहेका बाइडेनले उत्तर कोरिया पनि युद्धमा भाग लिन आएपछि भने अझ लामो दुरीका अट्याक एम्स हतियार नै प्रयोग गर्न अनुमति दिएका छन्।

हाललाई ती हतियार कुर्स्क क्षेत्रभित्र मात्रै प्रयोग गर्न अनुमति दिइए पनि पछि अन्यत्र पनि युक्रेनले प्रयोग गर्न पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्