नेप्से कारोवारमा बढोत्तरी, सामान्य अंकमा वृद्धि, लगानीकर्ता उत्साहित
काठमाडौं, २ मंसिर। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिन बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आइतबार नेप्से परिसूचक ४.९८ अंक बढेर २७५३.७६ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.१२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १० अर्ब ३२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२६ स्टकको १ लाख १३ हजार २५२ पटकको कारोबारमा ११ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ बराबरको २ करोड ४४ लाख २६ हजार कित्ता शेयर खरिद बिक्री भएको छ।
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्त, यस दिन माण्डु हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने बाराही हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको समृद्धि फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर भने यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४५ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ। त्यस्तै, यस दिन समृद्धि फाइनान्सको करिब ४२ करोडको शेयर किनबेच भएको छ भने जानकी फाइनान्सको करिब साढे ३५ करोडको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन माइक्रोफाइनान्स उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.६३ प्रतिशत घटेको छ।















प्रतिक्रिया दिनुहोस्