मुलुकमा आर्थिक समृद्धि गर्न आसन्न निर्वाचनमा पनि काँग्रेस विजयी हुनुपर्नेः प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिका लागि आगामी निर्वाचनमा काँग्रेसले जित्नु अपरिहार्य भएको बताएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन २०७४ का लागि काँग्रेसको घोषणापत्र आज एक समारोहमा सार्वजनिक गर्दै काँग्रेसको नेतृत्वमा नै २००७ सालयता मुलुकमा ठूला परिवर्तन सम्भव भएको र मुलुकमा अब आर्थिक समृद्धि गर्न पनि आसन्न निर्वाचनमा पनि काँग्रेस विजयी हुनुपर्ने धारणा व्यक्त समेत गरे ।

कम्युनिष्ट शासन व्यवस्थामा व्यक्तिगत स्वतन्त्रता र मानवाधिकार हनन हुनाका साथै त्रासको वातावरण हुने बताउँदै उनले, “जनतालाई देशको मालिक बनाउन लोकतन्त्र नै चाहिन्छ र लोकतन्त्रको संरक्षण काँग्रेसले मात्र गर्न सक्छ ।” हिमाल, पहाड र मधेशलाई जोड्ने एक मात्र पार्टी काँग्रेस भएको दाबी गर्दै समावेशी अधिकार स्थापित गर्न, राष्ट्रिय एकता बलियो बनाउन र राष्ट्रिय अन्तरराष्ट्रिय विश्वासका लागि पनि मुलुकमा काँग्रेसको विजय अपरिहार्य रहेको बताए ।

पार्टीका महामन्त्री डा शशांक कोइरालाले कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिनु काँग्रेसका लागि चुनौती भएको उल्लेख गर्दै आगामी निर्वाचनमा सम्पूर्ण काँग्रेस नेता कार्यकर्ता एक ढिक्का भएर निर्वाचनमा साथ दिनु पर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्