राष्ट्र बैंकले वित्तीय प्रणालीबाट आज फेरि ५० अर्ब तान्दै
काठमाडौं,२८ कात्तिक । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज फेरि ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रिय बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । बैंकिङ प्रणालीमा निरन्तर निक्षेप बढेपनि सोही अनुपातमा कर्जा लगानी हुन नसक्दा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा सकस पर्न थालेको छ ।
यस अघि राष्ट्र बैंकले गत कात्तिक २५ गते निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो । त्यसअघि गत कात्तिक २१ गते २१ दिनका लागि १०० अर्ब तरलता प्रशोचन गरेको थियो । निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले खिचेको १ खर्ब ५० अर्ब रुपैयाँ परिपक्क हुन बाँकी छ ।
त्यस्तै राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक २७ गते मात्रै स्थायी निक्षेप सुविधा ९एसडीएफ० मा १ खर्ब ५५ अर्ब ६० करोड रुपैयाँ राखेका छन् । निक्षेप संकलन र एसडीएफको गरेर बैंकहरुले लगानी गर्न नसकेको ३ खर्ब ५ अर्ब बढी रकम राष्ट्र बैंकमा जम्मा भएको छ ।
केन्द्रीय बैंकले आज जारी गरेको निक्षेप संकलन उपकरणको दिउँसो २ बजे बोलकबोल हुने जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको मंसिर १९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल जान नदिने गरी तरलता व्यवस्था गर्ने काम केन्द्रीय बैंकले गर्छ । केन्द्रीय बैंकले तरलता खिच्ने र अन्तर बैंक ब्याजदर घट्न वित्तीय प्रणालीको पैसा खिच्ने गरेको छ । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको खण्डमा ३ प्रतिशत ब्याजदरमा सीधै केन्द्रीय बैंकमा निक्षेप राख्न सक्छन ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हाल वित्तीय प्रणालीको निक्षेप ६६ खर्ब ३५ अर्ब रहेको छ भने ५२ खर्ब ७७ अर्ब कर्जा लगानी पुगेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात औसतमा ७८.२० प्रतिशत कायम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्