विश्वकपमा छनोट हुन फराकिलो जित निकाल्नुपर्ने बाध्यताबीच नेपाल यूएईविरुद्ध ‘गर या मर’ को स्थितिमा

काठमाडौं, २८ कार्तिक । आईसीसी महिला यू १९ विश्वकप एसिया छनोटमा नेपाल आफ्नो निर्णायक म्याच आज यूएईसित खेल्दैछ । विश्वकपमा छनोट हुनका लागि नेपालले यूएईविरुद्ध फराकिलो जित निकाल्नुपर्ने छ ।

प्रतियोगिताका ५ खेलमध्ये ४ खेल जितेको नेपाल यूएईसँग भने १३ रनले हारेको थियो । प्रतियोगिताको विजेताले मात्रै विश्वकपमा स्थान बनाउने भएकाले नेपाललाई आज जित्नै पर्ने बाध्यता भएको हो । यदि नेपाललाई फेरि पराजित गर्न सकेमा यूएईले मलेसियामा अर्को वर्ष हुने विश्वकपमा आफ्नो स्थान सुनिश्चित गर्ने छ ।

यदि नेपालले जितेको खण्डमा रन रेटका आधारमा निर्णय हुन्छ । अहिले रनरेटमा नेपालभन्दा यूएई अगाडि छ । यूएईको रनरेट ४.७१ र नेपालको ४.३५ रहेको छ । यदि नेपालले पहिले ब्याटिङ गरेमा यूएईलाई २० रनभन्दा बढीले हराउनुपर्छ । यदि दोस्रो ब्याटिङ गरेमा १६ ओभरभित्र जित निकाल्न सक्नुपर्ने छ । यद्यपि, यो अनुमानित हिसाब मात्र हो ।

आजको खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे सुरू हुने छ ।

प्रतिक्रिया दिनुहोस्