टिआइए कप अन्तरविद्यालय बास्केटबल सोमबारदेखि

काठमाडौं, २३ कार्तिक। ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए) को आयोजनामा टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आगामी सोमबारदेखि सुरु हुने भएको छ ।

प्रतियोगितामा सिनियर ब्वाइज र गर्ल्स तथा स्टाफ गरि तीन विधा समावेश गरिएको छ । सियिनर ब्वाइज र गर्ल्स फुल कोर्ट तथा स्टाफतर्फ भने थ्री वाइ थ्रीमा प्रतिस्पर्धा हुनेछ ।

बुढानीलकण्ठ नगरपालिका–७ हात्तिगौंडास्थित टिआइएकै कोर्टमा हुने प्रतियोगितामा सियनर व्याइज र गर्ल्समा समान १६ तथा स्टाफमा १२ टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क ४ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्नेले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमाति बजेट ४ लाख ५० हजार रहने आयोजकको अनुमान छ ।

टिआइएका प्रधानाध्यापक उत्तमराज थापाले विद्यालयबीचको आपसी सम्बन्ध मजबुद होस् र खेलाडीको क्षमतामा वृद्धि होस् भन्ने उदेश्यले प्रतियोगिता आयोजना गरिन लागेको बताए ।

‘हाम्रो मुख्य उदेश्य भनेको विद्यालयबीचको सम्बन्ध मजबुद बनाउने र खेलाडीको क्षमतालाई बाहिर ल्याउने हो । टिआइएकै उत्पादन अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका छन्,’ थापाले भने,‘ यो प्रतियोगिताले पनि नेपाली बास्केटबलको विकासमा थोरै भए पनि सहयोग पुर्याउछ भन्ने विश्वास छ ।’

प्रतियोगिताको खेल तालिका शुक्रबार साँझसम्ममा सार्वजनिक गरिने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्