नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट यूएईका रोहन मुस्तफा अनुबन्धित

काठमाडौै, २० कार्तिक। एशोसिएट क्रिकेटका परिचित खेलाडी रोहन मुस्तफाले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

यूएईबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका रोहनले नेपालमा विभिन्न प्रतियोगिता खेलेका छन् । उनका लागि नेपाली भूमि नयाँ होइन । उनले नेपाली फ्यानसमेत कमाएका छन् ।

यूएईको कप्तानीसमेत गरिसकेका ३६ वर्षीय रोहनले ओडीआई र टी–२० आईमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका छन् ।

बायाँ हाते ब्याटर रोहनले ५८ टी–२०आई मा एक हजार बढी रन जोड्नुका साथै २१ को औसतमा ६१ विकेट पनि लिएका छन् । अफ स्पिनर उनको ७ रन प्रतिओभरभन्दा कमको इकोनोमी रहेको छ ।

एकै ओडीआईमा शतक प्रहार गर्नुका साथै ५ विकेट लिने दुर्लभ कीर्तिमान पनि उनको नाममा छ । आईसीसीबाट टी–२० मान्यता पाएको यूएईको स्थानीय आईएल टी–२० लिगमा डेजर्ट भाइपर्सबाट खेल्दै आएका रोहनले आबुधाबी टी–१० मा बांग्ला टाइगर्सको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

रोयल्सले यसअघि विदेशी खेलाडीको रुपमा न्युजिल्याण्डका बलिङ अलराउन्डर स्कट कुगेलेइन, स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई अनुबन्ध गरिसकेको छ ।

त्यस्तै अस्ट्रेलियाका विश्वकप विजेता पूर्वक्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टर छन् । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन् ।

रोयल्सले आइकोनिक खेलाडी टोलीमा समेट्न खुला छनोट पनि गर्दैछ । यही कात्तिक २८ गते गर्ने ट्यालेन्ट हन्टबाट एक आइकोनिक खेलाडी र ४ जना सुदूरपश्चिम हिरोज छनोट गर्ने तयारी गरेको छ । छनोट कार्यक्रम धनगढीमा हुनेछ ।

आइकोनिक खेलाडी रोयल्सको एनपीएल टोलीमा समावेश हुनुका साथै ४ हिरोज पनि टोलीसँग रहेर नै प्रशिक्षण गर्नेछन् । छनोटका लागि रोयल्सले सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँग समन्वय गरिरहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपीएल सुरु हुँदैछ ।

सुदूरपश्चिम रोयल्सको टोलीः दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन, सेफ अलि जेब, स्कट कुगेलेइन, रोहन मुस्तफा

प्रतिक्रिया दिनुहोस्