दर्शकको खचाखच भीडका बीच नेपाल–बंगलादेश बीचको फाइनल खेल शुरु हुँदै, उपाधि पोल्टामा पार्ने दाउँमा नेपाल

काठमाडौं, १४ कार्तिक। नेपाल र बंगलादेशबीच हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न दर्शकहरूको बाक्लो उपस्थित छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाएको प्रहरीले जनाएको छ ।

साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल खेल्ने नेपाली महिला खेलाडीको टोली त्रिपुरेश्वस्थित रंगशाला पुगेको छ ।

साँझ शुरु हुने खेलमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत रंगशाला जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार खेल हुने स्थान दशरथ रंगशाला र आसपासमा सुरक्षाको राम्रो व्यवस्था गरिएको छ । उनले विभिन्न कोणबाट सुरक्षा विश्लेषण गर्दै सोही अनुसार सुरक्षाकर्मी परिचालन भएको बताए ।

‘हामीले सुरक्षाका विभिन्न कोणबाट विश्लेषण गरेर सुरक्षाकर्मी तैनाथ गरेका छौ’, एसएसपी रजौरेले भने,‘जिल्ला सुरक्षा समितिसहित अन्य पक्षसँग समेत छलफल र समन्वय गरेर तयारी भएको छ ।’

त्यस्तै उनले रंगशालाको गेट, प्याफिट, खेल मैदान सवैतिर फरक फरक टोली खटाइएको बताए । ‘त्यसबाहेक बम डिष्पोजल टोली, एम्बुलेन्स पनि तयारी अवस्थामा राखेका छौ’, उनले भने, ‘आवश्यकताअनुसार बर्दी र सादा पोसाकका प्रहरीले सुरक्षा प्रदान गर्नेछन् ।’

उक्त खेलमा दर्शकहरूको बाक्लो उपस्थिति छ। खेलबीच दर्शकले अवाञ्छनीय गतिविधि गर्नसक्ने भन्दै प्रहरीको बाक्लो उपस्थिति छ।

प्रहरीले चेकिङमा कडाइ गरेको छ। त्यस्तै दर्शकहरू पनि खेलाडीको हौसला बढाउन नेपालको झन्डा र जर्सी लगाएर रं‌गशाला पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्