प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्यो

काठमाडौं, ९ कार्तिक । नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको छ । डेडिकेटेड र ट्रंक लाइन विवादमा परेपछि प्राधिकरणले बिहीवार साँझ ८ बजेबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको हो ।

हालसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिएको छ ।

साथै जगदम्बा स्टिल, हुलास स्टिल , अशोक स्टिल र हामा आइरनको लाइनसमेत काटिएको प्राधिकरणको सिमरा वितरण केन्द्रले जनाएको छ ।

कार्यकारी निर्देशक घिसिङले बिहीवार साँझ उर्जा मन्त्री दिपक खड्कासँग भेटेर लाइन नकाट्ने हो भने मन्त्रीपरिषद्ले निर्णय गरिदिनुपर्ने बताएका थिए । मन्त्रिपरिषद् बैठकमा कुलमानले गरेको प्रस्तावको बारेमा छलफल भए पनि कुनै निर्णय भएको थिएन । त्यसलगत्तै उनले लाइन काट्न शुरु गरेका हुन् । थप उद्योगको पनि लाइन काटिएको हुनसक्ने र रातको समय भएकाले जानकारी नआएको हुनसक्ने ती उद्योगीले बताए ।

पछिल्लोपटक गत २४ असोजमा एक सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै ८ कात्तिक (आज) सम्मको म्याद दिएको थियो । तर, प्राधिकरणले बिल दिएको तर विद्युत प्रयोगको प्रमाण नदिएको भन्दै सो बक्यौता नतिर्ने अडानमा उद्योगीहरु छन् । यस विवादले चरम उत्कर्षमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्