शुक्रबारदेखि देशब्यापी पुनः प्रदर्शन गरिदै फिल्म ‘सानो संसार’

काठमाडौं, ८ कार्तिक । अर्जुन कुमार र माधव वाग्लेले निर्माण गरेको फिल्म ‘सानो संसार’ शुक्रबारदेखि देशब्यापी पुनः प्रदर्शन तयारीमा छ । यो फिल्मलाई बुधबार बेलुका क्यूएफएक्सको राइजिङ मलमा पुनः प्रिमियर गरिएको छ ।

यसअघि लगातारको झरीले प्रदर्शन प्रभावित बनेपछि निर्माताले ३ दिनमै फिल्म हलबाट उतारेका थिए । अनुकूल मौसम र समय हेरेर पुनः फिल्मलाई प्रदर्शन गरिएको निर्माता अर्जुन कुमारले बताए ।

आयोजित प्रिमियरमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, तुलसी घिमिरे, छविराज ओझा, हिमेश पन्तसहितका केही कमेडियन, फिल्मका कलाकार लगायतले फिल्म हेरे ।

प्रिमियरमा फिल्म हेरेपछि हरिवंशले कथावस्तु र अभिनयले आफ्नो मन जितेको बताए । ‘धेरै समयपछि मध्यमवर्गको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ’ उनले भने, ‘कथावस्तु र अभिनयबाट म प्रभावित भएँ ।’ मदनकृष्णले पनि फिल्मको प्रशंसा गरे ।

पहिलो रिलिजको बेलैमा यो फिल्मले उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ । नन–एक्टरलाई लिएर बनाइएको यो फिल्मबाट केदार घिमिरे माग्ने बुढाकी श्रीमतीले सीतादेवी तिमिलसेनाले फिल्ममा डेब्यु गरेकी छन् ।

फिल्ममा अञ्जसा रिजाल, अनु दाहाल, राज पँगेनी शर्मा, जीवन गौतम, सरिता भण्डारी, शिशिर शिवाकोटीको अभिनय छ । सिद्धार्थ पुडासैनीले फिल्म निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्