एएफसी यु-१७ एसियन कप: नेपालले जापानसँग सामना गर्दै

काठमाडौं, ७ कार्तिक । एएफसी यु-१७ एसियन कप छनोट अन्तर्गत समूह एफका खेलहरु आजदेखि कतारमा सुरु हुँदैछ ।

नेपालले आफ्नो पहिलो खेलमै साविक विजेता जापानको सामना गर्न लागेको हो । नेपाल र जापान यु-१७ फुटबल टिमबीचको खेल दोहास्थित एस्पाइर एकेडेमी पिचमा नेपाली समय अनुसार राति साढे १० बजे सुरु हुनेछ ।

आजै समूह ए मा रहेका घरेलु टोली कतार र मंगोलियाबीच पनि खेल हुनेछ ।

एएफसी यु(-७ एसियन कप चारपटक जितिसकेको जापान नेपालको लागि बलियो प्रतिद्वन्द्वी हो ।

त्यसैले नेपाल यु-१७ फुटबल टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले पनि जापानविरुद्धको खेल एक्सपोजरका लागि अवसर हुने बताएका छन् ।

श्रेष्ठले प्रि(म्याच प्रेस कन्फेरेन्समा छनोटका लागि आफ्नो टिमले राम्रो तयारी गरेको र जापानसँग खेल्न तयार रहेको बताएका छन् । ‘जापानसँग पहिलो खेल छ । जापान डिफेण्डिङ च्याम्पियन हो । हामीले यसका लागि राम्रो तयारी गरेका छौं र हामी राम्रो प्रदर्शन दिनेछौँ,’ श्रेष्ठले भने, ‘जापानसँग खेलेर हाम्रो खेलाडीले ठूलो एक्सपोजर पाउनेछ ।’

नेपालले समूहको दोस्रो खेल शुक्रबार आयोजक कतार र तेस्रो खेल आइतबार मंगोलियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्