आईसीसी क्रिकेट विश्वकप लिग टु अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

काठमाडौं, ७ कार्तिक । आईसीसी क्रिकेट विश्वकप लिग टु अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टु को तयारीमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेलमा अमेरिका ए टिमसँग पराजित भएको छ ।

मंगलबार राति भएको पहिलो अभ्यास खेलमा नेपालले लज्जासपद ब्याटिङ गर्दा अमेरिका ए टिमसँग ४ विकेटले पराजित भएको हो ।

नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरका ए ले २३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि नितिश रेडीले सर्वाधिक २९ रन बनाए भने ओपनर राहुल जरिवालाले २६ रन योगदान गरे ।

नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए । रिजन ढकाल र ललित राजवंशीले समान एक÷एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरको खेलमा आधा इनिङ मात्र ब्याटिङ गर्न सक्यो भने सय रन पनि पुर्‍याउन सकेन । २५।३ ओभरमा नेपाल ८१ रनमै अलआउट भएको थियो ।

नेपालका कुशल मल्लले १८, देव खनालले १२ र भीम सार्कीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अर्जुन साउद ५, अनिलकुमार साह ०, कुशल भुर्तेल २, रोहितकुमार पौडेल ८, दीपेन्द्रसिंह ऐरी ५, आरिफ शेख २ र सन्दीप लामिछाने ७ रन बनाएर आउट भए । करण केसी ७ रनमा अविजित रहे ।

अमेरिका ए का लागि आरिन नादकर्णीले चार तथा आयान देसाइले २ विकेट लिए ।

नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित लिग टु सिरिज यही अक्टोबर २५ देखि अमेरिकाको डालासमा सुरु हुँदैछ । जहाँ नेपालले पहिलो खेल अक्टोबर २७ अर्थात आउने आइतबार अमेरिकासँग खेल्नेछ । लिग टु मा नेपालले खेल्न लागेको यो तेस्रो सिरिज हो । यो खल चुनौतीपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्