माल्दिभ्स विरुद्ध खेलको पहिलो हाफमा नेपालले ४ गोल गरे, खेल जारी
काठमाडौं, ५ कार्तिक । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत माल्दिभ्स विरुद्ध भइरहेको खेलको पहिलो हाफमा नेपालले गोलको वर्षा गरेको छ ।
दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले पहिलो हाफमा चार गोल गरेको छ । रेखा पौडेलले दुई तथा प्रीति राई र सविता राना मगरले एक(एक गोल गरे । नेपालको प्रतिष्ठा राखेको छ ।
खेलको सुरुवातदेखि नै नेपालले बलमाथि पकड राख्दै लगातार विपक्षीको पोष्टमा आक्रमण गरेको थियो ।
छैटौं मिनेटमा प्रीति राईको गोलबाट नेपालले अग्रता लिएको थियो । सविता रानाको कर्नर पासमा प्रीतिले बायाँ साइडबाट हानेको प्रहार गोल भएको थियो । सविताले २९ औं मिनेटमा बक्स बाहिरबाट सुन्दर गोल गर्दै अग्रता दोब्बर पारिन् ।
त्यसपछि रेखा पौडेलले ३२ औं र ४२ औं मिनेटमा गोल गरिन् । रेखाले पहिलो गोल रश्मीकुमारी घिसिङको कटब्याक पासमा चेस्टले गोल गरेकी हुन् । रेखाले अर्को गोल सविताको पासमा गरेकी हुन् ।
गोलमेसिन सावित्रा भण्डारी साम्बा टिममा सामेल भएपनि उनी पहिलो हाफमा बेन्चमै छिन् ।
पहिलो हाफमा नेपालले गोलको अन्य अवसर पनि बनाएको थियो । तर सदुपयोग गर्न सकेन । ३८ औं मिनेटमा विमला चौधरीले हानेको फ्रिकिक बारमा लागेर बाहिरिएको थियो । खेल जारी छ ।
प्रतिक्रिया दिनुहोस्