‘ज्वाइँ साब’को व्यापारले जितु र नीतिलाई अगाडि बढ्न हौसला

काठमाडौं, २ कार्तिक । दीपक–दीपाको समूहबाट अलग भएपछि अभिनेता जितु नेपालले फिल्म ‘ह्यारी की प्यारी’मा काम गरे । तर, यसले उनको साख जोगाउन सकेन । फिल्म ‘डिजास्टर’ हुँदा उनको करिअर नै संकटमा पर्‍यो । लामो अन्योलतापछि ‘खजुरे ब्रो’बाट डेब्यु गरेकी अभिनेत्री नीति शाहलाई पनि पहिलो गाँसमै ढुंगा लागेको थियो । तर, उनीहरु दुवैलाई ‘ज्वाइँ साब’ले भने ठूलो राहत दिएको छ ।

फूलपाती (असोज २४ गते)बाट प्रदर्शनमा आएको फिल्मले ‘ओपनिङ’ राम्रो गर्न सकेन । तर, ‘वर्ड अफ माउथ’ले बलमा विस्तारै फिल्मले गति समात्यो । दशैंको टीकापछि व्यापारमा वृद्धि देखियो । अझै पनि ठूला सहरहरुमा अकुपेन्सी सन्तोषजनक छ । तर, ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’को चेपुवामा पर्दा फिल्मको सोज बढ्न सकेको छैन । जसले गर्दा व्यापारको आकार सानो छ । यद्यपि, फिल्मले लगानी उठाउन सक्ने सम्भावना देखिन्छ ।

‘ज्वाइँ साब’को व्यापार जितुको ‘ह्यारी की प्यारी’ र नीतिको ‘खजुरे ब्रो’भन्दा उल्लेख्य छ । यो उनीहरुको करिअरकै लागि सुखद् हो । ‘ज्वाइँ साब’बाट प्रशंसा भने जितुले पाएका छन् । उनको अभिनयलाई अब्बल मानिएको छ । नीतिको अभिनयको भने खासै प्रशंसा हुन सकेको छैन । यद्यपि, ‘खजुरे ब्रो’मा भन्दा उनको अभिनयमा केही सुधार देखिएको समीक्षकहरुको टिप्पणी छ ।

‘ज्वाइँ साब’को व्यापारिक रिपोर्ट सार्वजनिक गरिएको छैन । तथापि, एक सातामा फिल्मले एक करोडमाथि व्यापार गरेको हुनसक्ने प्रक्षेपण छ । अब दशैं विदा सकिएकाले फिल्मको अकुपेन्सी दर कस्तो रहन्छ, त्यसले व्यापारिक भविष्य देखाउनेछ । यद्यपि, ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’को आँधीबेहरीबीच पनि ‘ज्वाइँ साब’ले हलमा आफूलाई टिकाइराख्नु ठूलो सफलता हो ।

प्रतिक्रिया दिनुहोस्