राजस्व संकलन निराशाजनक, आम्दानीभन्दा खर्च बढी

काठमाडौं, १ कार्तिक । चालु आर्थिक वर्ष २०८१।८२ मा राजस्व संकलन निराशाजनक देखिएको छ । सोहीकारण लक्ष्य भेट्याउन यस वर्ष पनि मुस्किल हुने देखिएको छ । साथै पहिलो तीन महिनाबाटै सरकारको आम्दानीलाई खर्चले उछिनेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ मात्र राजस्व उठेको छ । यो लक्ष्यको १७.४९ प्रतिशत हो । यस वर्ष सरकारले १४ खर्ब १९ अर्ब रुपैयाँ बराबर राजस्व संकलनको लक्ष्य राखेको छ । अघिल्लो आर्थिक वर्ष २०८०।८१ को तुलनामा संकलनमा केही सुधार भए पनि लक्ष्यभन्दा भने पछाडि रहेको छ । गत वर्ष असोजसम्म २ खर्ब १९ अर्ब रुपैयाँ राजस्व उठेको थियो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्व २ खर्ब १९ अर्ब र गैरकर राजस्व २८ अर्ब ५७ लाख रुपैयाँ उठेको छ । यसबीचमा अनुदानबाट सरकारले कुनै आम्दानी गर्न सकेको छैन । अन्य आम्दानी ४ अर्ब ७५ लाख रुपैयाँ हुँदा सरकारले असोज मसान्तसम्म २ खर्ब ५३ अर्ब रुपैयाँ मात्र आम्दानी गर्न सकेको छ ।

यसबीचमा सरकारको खर्च भने ३ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ । सोहीकारण सरकारको आम्दानीको तुलनामा खर्च ७६ अर्ब रुपैयाँले माथि छ । यसबीचमा चाडबाडका लागि सरकारले बोनससहितको सेवा सुविधा प्रदान गर्छ र यसले चालु खर्च ह्वात्तै बढाएको हो ।

कार्यालयका अनुसार असोज मसान्तसम्म ३ खर्ब २९ अर्ब रुपैयाँ बजेट खर्च भएको छ । यो वार्षिक लक्ष्यको १७.७ प्रतिशत प्रगति हो । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

यसबीचमा चालु खर्च २ खर्ब २९ अर्ब भएको छ । यो लक्ष्यको २०.१५ प्रतिशत हो । यस वर्ष ११ खर्ब ४० अर्ब रुपैयाँ चालु खर्च हुने अनुमान रहेको छ ।

पूँजीगत खर्च भने २९ अर्ब ३७ करोड रुपैयाँ बराबर भएको छ । यो लक्ष्यको ८.३४ प्रतिशत हो । कार्यालयका अनुसार यस वर्ष ३ खर्ब ५२ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य रहेको छ ।

वित्तीय व्यवस्थामा भने सरकारकाले तीन महिनामै ६९ अर्ब ९७ करोड खर्च गरिसकेको छ । यसको ठूलो हिस्सा आन्तरिक ऋणको साँवा तिर्न खर्च हुने गरेको छ । वित्तीय व्यवस्थाको प्रगति लक्ष्यको १९.०५ प्रतिशत हो ।

यस वर्ष सरकारले ३ खर्ब ६७ अर्ब रुपैयाँ बराबर वित्तीय व्यवस्थामा खर्च गर्ने लक्ष्य सरकारको छ । आम्दानीभन्दा खर्च माथि जान थालेसँगै सरकारले पहिलो महिनाबाटै ऋण काढेर खर्च व्यवस्थापन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्