बक्स अफिसमा आक्रामक ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ को पनि व्यापार राम्रो

काठमाडौं, ३० असोज । दशैंको समय फिल्म रिलिजका लागि सबैभन्दा उपयुक्त मानिन्छ । लामो विदा र ‘फेस्टिभ मुड’ हुने भएकाले यो चाडमा सबैजसो उमेरका मानिसका लागि मनोरञ्जन पहिलो प्राथमिकतामा पर्छ । यसैले दशैंमा फिल्म लगाउँदा बढी व्यापार हुन्छ भन्ने विश्वास निर्मातामा देखिन्छ । यसपालिको दशैंको फूलपातीमा आएका तीन नेपाली फिल्म ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले दशैं विदाको महत्त्व अझ बढाएका छन् ।

यो त्रिपक्षीय भिडन्तले तीनवटै फिल्मको व्यापारमा ठूलो असर गर्ने प्रक्षेपण गरिएको थियो । धेरथोर गरेको पनि छ । तथापि, तीनवटै फिल्मप्रति दर्शकको आकर्षण राम्रो देखिएको छ । अझ ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ को क्रेज अद्भूत छ । प्रदर्शनको दिनदेखि दुवै फिल्मले आक्रामक व्यापार गरिरहेका छन् । बक्स अफिसमा यिनै दुई फिल्मबीच टक्करको प्रतिस्पर्धा भइरहेको छ ।

नामै ब्रान्ड भएकाले ‘छक्का पञ्जा ५’प्रति दर्शक आकर्षित हुनु अस्वभाविक होइन । यसका अघिल्ला चार श्रृंखलाले पनि बक्स अफिसमा ठूलो अंक जोडेका थिए । तर, ‘१२ गाउँ’ को व्यापारले भने फिल्म क्षेत्रलाई नै ‘सरप्राइज’ दिएको छ । त्यसो त रिलिजपूर्व नै फिल्मको ठूलो ‘हाइप’ थियो । जताततै ‘१२ गाउँ’को मात्र नाम देखिन्थ्यो । धेरैले यसलाई ‘साइबर सेना’को संज्ञा दिएका थिए । तर, हलमा पनि फिल्मको ठूलो क्रेज देखिएको छ । यसले गर्दा एक्सन फिल्मका दर्शक अझै पनि छन् भनेर प्रमाणित गरेको छ । मात्र उत्कृष्ट फिल्म हुनुप¥यो र दर्शकको मन छुनु पर्यो त्यसपछि दर्शक आफै ओइरिन्छन् भन्ने कुरा प्रमाणित गरिदिएको छ । अझै त्यो भन्दा खुशीको कुरा नेपाली चलचित्रले एउटा होनहार,  डान्स, फाइट, उत्कृष्ट डायलग र अभिनय गर्ने सशक्त युवा नायक पाएको छ । दर्शकको धेरै समयपछिको खोजी समिर भट्ट भन्ने प्रमाणित भएको छ जसले समीर स्वयंलाई पनि नेपाल चलचित्रको ढोका खोलिदिएको छ ।

‘१२ गाउँ’ले प्रदर्शनको दिनदेखि देशभर प्राप्त अधिकांश सोजमा उच्च अकुपेन्सी कायम गरेको छ । पाँचौं दिनसम्म आइपुग्दा पनि अकुपेन्सी उतिक्कै बलियो छ । सिंगल थिएटर होस् वा मल्टीप्लेक्स, जताततै फिल्मले ठूलो मात्रामा दर्शक भित्राएको छ । सम्भवतः एक दशकपछि एक्सन फिल्म हेर्न हलमा यो किसिमको दर्शक देखिएका हुन् । फिल्मले हरेक दिन एक करोड हाराहारीको व्यापार गर्दै आइरहेको छ ।

‘१२ गाउँ’ले प्रदर्शनको पाँच दिनमै लगानी सुरक्षित गरिसकेको जनाइएको छ । यो फिल्मले अभिनेता विराज भट्टको गुमेको ‘स्टारडम’ फर्काएको छ भने यसैबाट डेब्यु गरेका विराजका छोरा समीर भट्ट ‘स्टार’को रुपमा उदाएका छन् । फिल्म हेर्ने अधिकांशले समीरकै बढी प्रशंसा गरेका छन् । उनको एक्सन र नृत्य बढी रुचाइएको छ । तथापि, फिल्मलाई मिश्रित प्रतिक्रिया प्राप्त छ ।

फूलपातीका तीन फिल्ममध्ये व्यापारमा भने सबैभन्दा अगाडि ‘छक्का पञ्जा ५’ नै छ । पारिवारिक दर्शकको बलियो साथ मिलेको फिल्मले प्रदर्शनको दिनदेखि आक्रामक व्यापारलाई कायम राखेको छ । चार दिनमा ६ करोडमाथिको व्यापार गरिसकेको फिल्मले दशैं विदासम्ममा १० करोडको आँकडा नघाउने आँकलन गरिएको छ । फिल्मले देशभर प्राप्त अधिकांश सोजलाई सजिलै अकुपेन्सीमा बदलेको छ ।

तुलनात्मक रुपमा व्यापारमा ‘ज्वाइँ साब’ भने केही कमजोर देखिन्छ । तर, निराशाजनक छैन । काठमाडौं, नेपालगञ्ज, इटहरी जस्ता सहरका मल्टीप्लेक्सहरुमा फिल्मले प्राप्त गरेका सोजमा सुखद् अकुपेन्सी देखिएको छ । निर्देशक बसन्त निरौलाले फिल्मको हरेक दिन अकुपेन्सी वृद्धि भइरहेको दाबी गरे । भन्छन्, ‘पहिलो दिन ३० प्रतिशत मात्र अकुपेन्सी थियो । तर, तेस्रो दिनदेखि ८० प्रतिशतसम्म अकुपेन्सी छ । धेरै हलले सोज पनि थपेका छन् । फिल्म राम्रो भएपछि दर्शक र सोज थपिन्छ भन्ने यो उदाहरण हो ।’

फिल्म हेर्ने अधिकांशले अभिनेता जितु नेपालको कामको तारिफ गरेका छन् । अभिनेत्री नीति शाह र कलाकार हिमेश पन्तको अभिनयलाई पनि रुचाइएको छ । फिल्मको कमेडी पाटो र बेहुलीको घरमा बेहुला भित्रिने रोचक कथावस्तुलाई दर्शकले मन पराएका छन् । ‘वर्ड अफ माउथ’ बलियो भएकाले फिल्मले हलमा लामो यात्रा गर्ने निर्देशक निरौलाको विश्वास छ ।

‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’को टिकट डिमान्डले क्यूएफएक्सको ‘सर्भर’ नै ‘डाउन’

‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’को असामान्य रूपमा उच्च टिकट माग हुँदा देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सको करिब १० घन्टादेखि ‘सर्भर’ नै ‘डाउन’ भएको छ । जसले गर्दा दर्शकले एप र अनलाइनबाट क्यूएफएक्स चेनमा टिकट काट्न सकेका छैनन् । सीधै हलमा गएर टिकट काट्नुपर्ने अवस्था छ । देशका अन्य ठूला मल्टीप्लेक्सहरुमा पनि टिकट व्यवस्थापन सकसपूर्ण देखिएको छ ।

फूलपातीदेखि प्रायः हलहरुले दर्शकको मागअनुसार ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’को टिकट उपलब्ध गराउन सकेका छैनन् । फिल्म रिलिजको चाप धेरै हुँदा यो समस्या आएको देखिन्छ ।

हलको विकल्प खोज्ने निश्चलको चेतावनी

घटस्थापनाबाट रिलिज भएको फिल्म ‘बेहुली फ्रम मेघौली’ले इतिहासमै सर्वाधिक सोज पाएको थियो । फिल्मले ‘ओपनिङ’ पनि आक्रामक नै गरेको थियो । हलिउडको ठूलो फिल्म ‘जोकर २’ले समेत कुनै असर गर्न सकेन । तर, फूलपातीका तीन फिल्मका कारण ‘बेहुली’ यतिबेला न्यून सोजमा खुम्चिन पुगेको छ । यद्यपि, प्राप्त सोजमा फिल्मको अकुपेन्सी अझै पनि राम्रो देखिन्छ ।

फिल्मको सोज झन् झन् खुम्चिन थालेपछि निर्माता तथा अभिनेता निश्चल बस्नेतले हलको विकल्प खोज्ने चेतावनी दिएका छन् । उनले सोमबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदा पनि तपाईंहरु चाहिँ त्यही हिन्दी फिल्मलाई नै सोज दिईराख्नु है, अकुपेन्सी आलु हुँदा पनि । म चाहिँ हलको विकल्पतिर लागेँ ।’

उनले हिन्दी फिल्म भनेर ‘जिग्रा’लाई भनेका हुन्, जुन गत शुक्रबारबाट प्रदर्शनमा आएको थियो । यो फिल्मको अकुपेन्सी शून्य बराबर हुँदा पनि मल्टीप्लेक्सहरुले सोज दिएर टिकाइरहेका छन् । तर, दर्शकको राम्रो साथ र अकुपेन्सी भएर पनि ‘बेहुली फ्रम मेघौली’लाई पर्याप्त सोज नदिएकोमा निश्चलको असन्तुष्टि देखिन्छ । उनी हलबाट फिल्म उतार्ने सोचमा रहेको स्टाटसले संकेत गर्छ । यद्यपि, फिल्मले नेपालबाटै लगानी सुरक्षित गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्