विश्व दृष्टि दिवस, २०८१: बालबालिकाको आँखालाई विशेष ख्याल गरौँ

काठमाडौं, २४ असोज।  हरेक बर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसका रुपमा मनाईंदै आएकोमा यस बर्ष असोज २४ तदनुसार अक्टोबर १० मा नेपालमा पनि ‘आँखालाई माया गरौं’ -बालबालिकाको आँखालाई विशेष ख्याल गरौँ_ भन्ने नारा सहित बिभिन्न कार्यक्रमहरु आयोजना गरी देशभरी मनाउने गरिन्छ ।

यस नाराले  बालबालिकाहरुको आँखा स्वास्थ्यमा सरोकार राख्ने सबैपक्षहरुलाई समुदाय स्तरमै जनचेतना जगाउन, बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिन र नीतिगत तहमा
पैरवी गर्न अति आवश्यक रहेको सन्देश प्रदान गर्दछ । पछिल्लो समय बढ्दो डिजिटल स्क्रिनहरुको प्रयोग र घट्दो बाह्य गतिविधिका कारण बालबालिकाहरुको आँखामा विभिन्न समस्याहरु बढिरहेका छन् ।

विश्व स्वास्थ्य संगठन -WHO) ले समेत सन् २०५० सम्ममा विश्वको करिब ५० प्रतिशत जनसंख्यामा दृष्टिदोषको समस्या देखिनसक्ने पुर्वानुमान गरेको छ । जसको रोकथाम तथा न्यूनिकरणका लागि सबै पक्षहरुले सहकार्य गर्र्दै समुदायस्तरमै जनचेतना अविबृद्धि गर्न आवश्यक छ । आँखामा देखिने विभिन्न समस्याहरुले बालबालिकाको सिकाई, बृद्धि र मानसकि स्वास्थ्यमा समेत प्रत्यक्ष रुपमा प्र्रभाव पारिरहेको हुन्छ । बालबालिकाहरुको आँखामा देखिने समस्याहरुको समयमै पहिचान हुन सकेमा अधिकांश समस्याहरु उपचारबाट निको हुने प्रकृतिका हुन्छन् । बच्चा जन्मिएको १ महिनामा, ६ महिनामा, १ बर्षमा, विद्यालय भर्ना गर्नुअघि र हरेक बर्ष कम्तिमा एक पटक उनीहरुको अनिवार्य रुपमा आँखा परिक्षण गराउन उपयुक्त हुन्छ । बालबालिकाहरुको आँखामा देखिने कतिपय समस्याहरु परिक्षण बिना पहिचान गर्न नसक्ने प्रकृतिका हुने भएकाले समयमै समस्याको पहिचान र निराकरणका लागि समेत बालबालिकाहरुको नियमित आँखा तथा दृष्टि परिक्षण
गराउन जरुरी हुन्छ ।

अहिले विश्वमा करिब ४ करोड ५० लाख बालबालिकाहरूमा दृष्टि सम्बन्धी समस्या रहेको अनुमान गरिएको छ भने त्यसमध्ये धेरै बालबालिकाहरु आँखा उपचार सेवाबाट बन्चित छन् । त्यस्तै नेपालमा करिब ११ लाख बालबालिकाहरुमा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान गरिएको छ, जसमध्ये करिब ७ लाख बालबालिकाहरुमा उपचारको पहुँच पुगेको छैन । दृष्टि दोषको समस्या भएका बालबालिकाहरुले समयमै आँखा परिक्षण गरी चस्माको प्रयोग गरेमा त्यसबाट उनीहरुको शैक्षिक उत्तिर्ण दरमा ४४ प्रतिशतले बृद्धि आउँछ । दिगो विकासको लक्ष्य ४ गुणस्तरिय शिक्षा प्राप्तिमा समेत बालबालिकाहरुको आँखा स्वास्थ्यले प्रत्यक्ष रुपमा प्रभाव पार्दछ । दिगो विकासको लक्ष्य प्राप्तिका लागि समेत सवै सरोकारवालहरु बालबालिकाको आँखा स्वास्थ्यमा सजग रहनु जरुरी छ ।

नेपाल सरकारको राष्ट्रिय आँखा स्वास्थ्य रणनीति -२०७९–२०८६_ को दीर्घकालीन सोच “स्वास्थ्य आँखा, सुन्दर समाज“ रहेको छ भने यसको लक्ष्य गुणस्तरीय आँखा स्वास्थ्य सेवामा नागरिकको समतामूलक र सर्वसुलभ पहुँच सुनिश्चित गर्ने रहेको छ । आगामी दिनमा बालबालिकाहरुका आँखा सम्बन्धी समस्याहरुलाई सम्बोधन गर्न बालबालिकाहरुका आँखा सम्बन्धी समस्याहरुको रोकथाम र जोखिम कम गर्न, उनीहरुका परिवार र समाज लाई आँखा स्वास्थ्यका विषयमा सचेत गराउन बिभिन्न सम्बन्धित संघिय मन्त्रालय, प्रदेश र स्थानीय तहसम्मको समन्वयात्मक लगानी र भूमिका आबश्यक रहेको हुँदा सबै निकायहरुले आ–आफ्नो तहबाट प्राथमिकता तय गरी कार्यान्नवयनमा जान आबश्यक रहेको छ । अन्त्यमा, यस विश्व दृष्टि दिवस २०८१ को अवसरमा, हामी सबै बालबालिकाको आँखा स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउन र भविष्यमा हाम्रो समाजका बालबालिकाहरुको आँखा स्वास्थ्यमा सुधार गर्न सम्पूर्ण  समेत सहकार्य  राउन जरुरी हुन्छ।

प्रतिक्रिया दिनुहोस्