‘१२ गाउँ’ की न्यान्सीको घोषणा– ‘समीर अपकमिङ सुपरस्टार’

काठमाडौँ, २१ असोज । यही बिहीबार (फूलपाती)बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘१२ गाउँ’बाट तीन अनुहारले डेब्यु गरेका छन् । अभिनेतामा समीर भट्ट (विराज भट्टका छोरा) र अभिनेत्रीमा पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले डेब्यु गरेका हुन् । तर, समीरको चर्चाले दुई अभिनेत्री छायाँमा परेका छन् । टिजर तथा ट्रेलरमा पनि उनीहरूलाई खासै प्राथमिकता दिइएको छैन ।

गत बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विराज र समीरसहित न्यान्सी पनि उपस्थित थिइन् । सनिशा आफ्नो अर्को फिल्म ‘नरसिंहा अवतार’को छायांकनमा व्यस्त भएकाले सहभागी हुन सकिनन् । विराज र समीरमा पूरापूर केन्द्रित बनेको पत्रकार सम्मेलनमा न्यान्सीतिर एउटा मात्रै प्रश्न सोझियो । यद्यपि, उनी ‘१२ गाउँ’लाई लिएर उत्साहित रहेको भाव अनुहारमा प्रष्ट देखिन्थ्यो ।

ट्रेलरमा उनको जोडी विराज र समीरमध्ये कोसँग बाँधिएको छ भन्ने खुलाइएको छैन । उनी पनि यसलाई ‘सरप्राइज’ राख्न चाहिन्छन् । भन्छिन्, ‘सुपरस्टार विराज भट्ट । अपकमिङ सुपरस्टार समीर भट्ट । र, ‘सून टू बी स्टार’ न्यान्सी खड्का । अहिलेसम्म मेरो जोडी को हो भन्ने खुलेको छैन । जोसँग भए पनि म भाग्यमानी नै हो । अहिलेलाई ‘सरप्राइज’ नै राखुँ । फिल्म हेर्दा रमाइलो हुनेवाला छ ।’

न्यान्सीलाई भविष्यमा फिल्ममै सक्रिय भएर धेरै अगाडि बढ्ने इच्छा छ । ‘मैले कलाकारितामा पहिलो पाइला टेक्दैछु । विराज सरले डेब्युका लागि मलाई राम्रो अवसर दिनुभएकोमा कृतज्ञ छु । फिल्ममा राम्रो काम देखाउन सकेको छु भन्ने विश्वास छ, उनले पत्रकार सम्मेलनमा भनिन्, ‘भविष्यमा धेरै नै अगाडि बढ्ने इच्छा छ ।’ उनले २०२२ मा मिस नेपाल इन्टरनेसनलको उपाधि जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्