एन्फा महिला सुपर लिगमा वालिङ नगरपालिका छनोट

काठमाडौं, १० असोज । स्याङ्जाको वालिङ नगरपालिकाले एन्फा महिला लिगमा बिहीबार चन्द्रपुर नगरपालिकालाई २–१ ले पराजित गर्दै सुपर लिगमा स्थान बनाएको छ ।

पहिलो तरणको आफ्नो अन्तिम खेलमा जित निकालेपछि वालिङले शीर्ष पाँचमा स्थान सुरक्षित गर्दै सुपर लिगमा स्थान पक्का गरेको हो ।

१० टोली सहभागी लिगमा पहिलो चरणको खेलपछि शीर्ष पाँचमा रहने टोली सुपर लिगमा प्रवेश गर्नेछन् । सुपर लिग डबल राउण्ड रोबिनका आधारमा हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङका लागि सुक्रिया मिया र ज्याकलिन नासालीले पहिलो हाफमा गोल गरे । चन्द्रपुरका लागि सुनिता सुनारले दोस्रो हाफमा एक गोल गरिन् ।

खेलको पाँचौं मिनेटमै सुक्रियाले गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् । ३६ मिनेटमा ज्याकलिनले गोल गर्दै वालिङको अग्रता दोब्बर पारिन् ।

दोस्रो हाफको सुरुमै सुनिताले गोल गर्दै चन्द्रपुरलाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । तर त्यसपछि थप गोल हुन सकेन ।

दोस्रो हाफमा दुवै टोलीले गोलका लागि खासै अवसर बनाउन सकेनन् । जितपछि ९ खेलबाट १५ अंक जोडेको वालिङले अंकतालिकामा चौथो स्थानमा रहँदै पहिलो चरण सकाएको छ ।

तीन विभागीय टोली एपिएफ, त्रिभुवन आर्मी एफसी र नेपाल पुलिस क्लबले यसअघि नै सुपर लिगमा स्थान बनाइसकेका छन् । हारपछि चन्द्रपुर भने सुपर लिग होडबाट बाहिरिएको छ । चन्द्रपुरले ९ खेलबाट अंक मात्र जोड्यो ।

बिहीबारे दोस्रो खेलमा कोशी र सुदूरपश्चिमबीच खेल हुनेछ । उक्त खेलमा जित हात पारे कोशी पनि सुपर लिगमा छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्