कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्नातक तह कृषि संकाय तर्फको प्रवेश परीक्षा सुरू

काठमाडौं, ९ असोज । कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्नातक तह कृषि संकाय तर्फको प्रवेश परीक्षा कडा सुरक्षाका बीच सुरू भएको छ।

गत भदौ १३ गते नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीहरूका बीचमा झडप भएपछि विश्वविद्यालय बन्द भएको थियो। झडपपछि सुरक्षाको कारण देखाएर विश्वविद्यालयले केन्द्रीय क्याम्पस रामपुरमा परीक्षा, प्रवेश परीक्षा तथा पठनपाठन स्थगित गरेको हो।

विश्वविद्यालय बन्द रहेको अवस्थामा भरतपुरस्थित मैयादेवी कन्या कलेज र काठमाडौंको पद्मकन्या कलेजमा परीक्षा लिइएको कृषि संकायका डिन डा. अर्जुन श्रेष्ठले जानकारी दिए।

रजिष्ट्रार डा. शारदा थपलियाले २७ दिनदेखि बन्द रहेको विश्वविद्यालय खुलाउन प्रयास भइरहेको बताइन्। व्यवस्थित रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्न विद्यार्थी संगठनहरूसँग वार्ता, छलफल भइरहेको उनले जानकारी दिइन्।

नेपाल विद्यार्थी संघले कुटपिटमा संलग्नलाई कारबाही गर्न र घाइतेको उपचार खर्च व्यहोर्न माग गरेको छ।

संघले आफ्ना मागहरू पूरा नभएसम्म प्रवेश परीक्षा सञ्चालन नगर्न दबाब दिएको थियो। अनेरास्ववियुले भने प्रवेश परीक्षा रोक्न नहुने माग राख्दै आएको थियो।

प्रवेश परीक्षामा १२ सय ६३ जना विद्यार्थी सहभागी छन्। चितवनमा ६७१ र काठमाडौंमा ६८८ जनाले परीक्षा दिइरहेका छन्। विद्यार्थीहरूबीच झडप हुनसक्ने आँकलन गरेर परीक्षा स्थल बाहिर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

स्नातक तह कृषि संकायको छात्रावासमा बेला–बेलामा हुने झडपले समग्र विश्वविद्यालयकै शैक्षिक गतिविधि प्रभावित हुने गरेको छ।

यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विद्यार्थीको अलग अलग छात्रावास छन्।

विद्यार्थी संगठनले छात्रावासलाई शक्ति प्रदर्शनको केन्द्र बनाउने गरेका छन्। उनीहरूलाई विश्वविद्यालयका प्राध्यापकदेखि माउ राजनीतिक दलले आफ्ना स्वार्थका लागि प्रयोग गर्ने गरेको भन्दै आलोचना हुने गरेको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विश्वविद्यालयमा देखिएको समस्या हल गर्न समन्वय गर्दै आए पनि प्रगति हुन नसकेको बताए।

प्रतिक्रिया दिनुहोस्