मलेसियामा ९२ वर्षीय महाथिर मोहम्मद बने फेरि प्रधानमन्त्री , सत्तारुढ गठबन्धन पराजित

काठमाडौं। मलेसियाका पिता मानिने पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद फेरि प्रधानमन्त्री बन्ने भएका छन् ।
मलेसियामा भएको निर्वाचनमा सत्तारुढ दलको गठबन्धन नराम्ररी पराजित भएको छ ।

निर्वाचन परिणामसँगै मोहम्मद फेरि प्रधानमन्त्री बन्ने भएका हुन् । विपक्षी गठबन्धनले ऐतिहासिक जित पाएसँगै ९२ वर्षीय महाथिरलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।

२२२ सीट रहेको मलेसियाली संसदमा महाथिरको विपक्षी गठबन्धनले ११५ सीटमा जितेको छ । यो संख्या सरकार बनाउनका लागि आवश्यक ११२ भन्दा बढी हो ।

६२ सालदेखि सत्तामा रहेको बारिसन नेशनल बीएन गठबन्धनलाई हराएलगत्तै महाथिरले आफूहरु बदलाभन्दा कानूनी शासन स्थापित गर्ने बाटोमा केन्द्रित हुने प्रतिक्रिया दिए ।

महाथिर पनि बारिसन नेशनल दलबाटै यसअघि प्रधानमन्त्री बनेका थिए । वर्तमान प्रधानमन्त्री नजीब रजाकलाई महाथिरले नै सत्ता सुम्पिएका थिए । तर पछिल्लो समय उनी भ्रष्टाचारलगायतका मुद्दामा उनले प्रधानमन्त्री नजीब रजाकको कडा आलोचना गर्दै विपक्षी गठबन्धन बनाएका थिए ।

चरम भ्रष्टाचारमा डुबेका रजाकले पद छाड्न अस्वीकार गर्दै महाथिरलाई नै अटेर गरेपछि उनी विपक्षी गठबन्धनसँग मिलेर चुनावमा होमिएका हुन् ।

रजाकको पार्टीले भने जम्मा ७९ सीटमा मात्र जितेको छ ।

प्रतिक्रिया दिनुहोस्