‘१२ गाउँ’मा सोनू समीरको रोमान्स गीत ‘कसो कसो’ सार्वजनिक

काठमाडौं, ८ असोज । अभिनेता विराज भट्टको दोस्रो निर्देशकीय फिल्म ‘१२ गाउँ’को नयाँ गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक ‘कसो कसो’ बोलको रोमान्टिक गीतमा फिल्मका मुख्य अभिनेता समीर भट्ट र अभिनेत्री सोनू चन्द्रपाल प्रस्तुत छन् । उनीहरूको एकअर्काप्रति आशक्ति, आकर्षण र प्रेमभाव गीतले बोल्छ । समीर विराजका आफ्नै छोरा हुन् भने सोनू भारतीय टीभी सिरिजकी कलाकार हुन् ।

नीरज सिंहको संगीत, सुवास चन्द्र ढुंगेलको शब्द तथा सुगम पोखरेल र सदीक्षा कट्टेलको गायन रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । यो गीत भारतका प्रख्यात गायक कैलाश खेरको कैलासा स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको छायांकन पनि भारतमै गरिएको देखिन्छ । करिब दुई साताअघि ‘१२ गाउँ’को पहिलो गीतको रुपमा ‘सिनेमा हेर्न जाउँ’ सार्वजनिक गरिएको थियो ।

यही असोज २४ गते (फूलपाती)देखि प्रदर्शनमा आउन लागेको फिल्ममा समीर र सोनूसहित विराज स्वयं पनि मुख्य भूमिकामा छन् । पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दीया मास्के, अर्जुनजंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, भिष्म जोशी, स्टन्ट सिल्भा (साउथ फिल्मका कलाकार) लगायतको पनि ‘१२ गाउँ’मा अभिनय रहेको छ ।

फिल्ममा महेश पौडेलको छायांकन, अर्जुन पोखरेल र निरज सिंहको संगीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ भने विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ । यसमा द्वन्द्व निर्देशन साउथका स्टन्ट सिल्भाले गरेका छन् । उनले साउथका ५० बढी फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्