प्राकृतिक विपत्तिमा परेका परिवारलाई एक लाख दिने सरकारको निर्णय !

काठमाडौं सरकारले मंगलबार राति तराईका धनुषा, महोतरी र सिराहा जिल्लामा परेको असिनापानीले पुर्‍याएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

बुधबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले तराईका तीे जिल्लाहरुमा असिनापानीले पुर्‍याएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको हो ।

बैठकले प्राकृतिक विपत्तिमा परि ज्यान गुमाएकाका परिवारलाई राहतस्वरुप एक लाख रुपैयाँ नगद र आवास निर्माणका लागि तत्काल २ बण्डल जस्ता उपलब्ध गराउने निर्णय पनि गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

राज्यमन्त्री बास्कोटाका अनुसार सरकारले गएको असार, साउनमा बाढी र डुबानमा परेकाहरुलाई राहत दिन एक अर्ब रुपैयाँ निकासा पनि गरेको छ । त्यो रकम प्रधानमन्त्री राहत कोषबाट गृह मन्त्रालयमा गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पीडितलाई वितरण गर्ने व्यवस्थासमेत गरिएको बताइएको छ ।

सरकारले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ लाई पनि स्वीकृत गरेको छ । विकास निर्माणको काममा बजेट बढाउन र अनुत्पादक क्षेत्रको खर्च कटौती गर्ने उद्देश्यका साथ यो मार्गदर्शन ल्याउनुपरेको पनि राज्यमन्त्री बास्कोटाले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्