कार्तिक १५ (लक्ष्मी पूजा) बाट प्रदर्शनमा आउने फिल्म ‘एक्टरः टेक वन’ को नयाँ पोस्टर सार्वजनिक गर्दै थाल्यो प्रचारप्रसार

काठमाडौं, ७ असोज । आगामी कार्तिक १५ (लक्ष्मी पूजा)को दिनदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘एक्टरः टेक वन’ को तीन नयाँ पोस्टरहरू एकसाथ सार्वजनिक गरिएको छ । निर्माता थमन कुमार भण्डारीले पोस्टर सार्वजनिक गर्दै फिल्मको आधिकारिक प्रचार सुरु गरिएको बताएका हुन् ।

पोस्टरमा फिल्ममा मुख्य कलाकार प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझी अटाएका छन् । तीनमध्ये एक पोस्टरमा प्रदीपलाई आना र दिव्याको बिचमा राखिएको छ, भने अन्य दुई पोस्टरमा अभिनेत्रीहरू आना र दिव्यालाई प्रदीपसँग प्रेम भावमा प्रस्तुत गरिएको छ । पोस्टरबाट फिल्म त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको अनुमान गर्न सकिन्छ ।

राजन भुसालले निर्देशन गरेको फिल्ममा प्रदीप, आना र दिव्याको अलावा राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक र सुशील सिटौला लगायतको अभिनय छ । अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुति रहेको फिल्मको निर्माता थमन कुमार भण्डारी हुन् । अनिश भुसाल सह–निर्माता र क्रिएटिभ प्रोड्युसर मोती कार्की हुन् । आकाश बराल र राजन भुसालले फिल्म संयुक्त रूपमा लेखेका हुन् ।

फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन, निमेश श्रेष्ठको सम्पादन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको सङ्गीत छ । शिशिर खाती र किरण थापाको कोरियोग्राफी रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ ।

 

प्रतिक्रिया दिनुहोस्