एन्फा महिला लिगमा रश्मीको ५ गोल

काठमाडौं, ४ असोज । एन्फा महिला लिग अन्तर्गत सातौं चरणको पहिलो खेलमा कोशी प्रदेशविरुद्ध एपीएफ ८–० ले विजयी भएको छ । एपीएफको जितमा रश्मी कुमारी घिसिङ एक्लैले ५ गोल गरेकी छन् ।

एपीएफका लागि पाँचौं मिनेटमा अनिता केसीले गोल गर्दै अग्रता दिलाएकी हुन् । रश्मी कुमारी घिसिङको असिस्टमा उनले गोल गरेकी हुन् । खेलको १९ औं मिनेटमा कप्तान अनिता बस्नेतले एपीएफका लागि फ्रि किकमा गोल गरिन् ।

पहिलो हाफमा २–० को अग्रता बनाएको एपीएफले दोस्रो हाफमा ६ गोल थप्यो । खेलको ५६औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफविरुद्ध ३–० को अग्रता बनाइन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दोस्रो हाफको ८० मिनेटमा कोशी १० खेलाडीमा सीमित बन्यो । खेलको ८० औं मिनेटमा कोशीकी नेहा कुमारी चौधरीले सविता राना मगरलाई फाउल गर्दा उनी दोहोरो पहेंलो कार्डसहित मैदानबाट बाहिरिएकी थिइन् ।

पोष्टको वायाँपट्टीबाट पाएको फ्रि किकबाट अनिता केसीले सहजै गोल गरिन् ।

त्यसपछि भने १० खेलाडीमा सीमित कोशीलाई रश्मीलाई रोक्न गाह्रो भयो । खेलको ८१ औं, ८५ औं, ८७ औं र ८८ औं मिनेटमा गोल गर्दै रश्मीले आजको खेललाई कोशीबाट धेरै पर पुर्याइन् । यससँगै सर्वाधिक गोलकर्ताको सूचीमा पनि रश्मीले आफ्नो नाम दर्ता गराएकी छिन् ।

यससँगै एपीएफ सातौं चरणसम्म अपराजित रहेको छ । एपीएफ ७ खेलबाट ६ जित र १ बराबरीसँगै १९ अंकका साथ शीर्ष स्थानमा छ ।

कोशीलाई भने आजको हारले शीर्ष पाँचको दौडमा धक्का लागेको छ । कोशी ७ खेलमा जम्मा ३ जित, १ बराबरी र ३ हारसहित हालसम्म पाँचौं स्थानमा छ ।

आजको दोस्रो खेल त्रिभुवन आर्मी र चन्द्रपुर नगरपालिका बीच दिउँसो साढे ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्