अब पुष २६ मा ‘मायावी’ रिलिज हुने

काठमाडौं , १ असोज । अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाइँको अभिनय रहेको फिल्म ‘मायावी’ पूर्वघोषित मिति कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट पछाडि हटेको छ । यो मितिमा नेपाली र विदेशी गरी लगभग ५ वटा फिल्म पुगेपछि ‘मायावी’को प्रदर्शन मिति सारिएको हो । अब फिल्मलाई आगामी पुष २६ गतेबाट प्रदर्शन गरिने भएको छ । वितरक करण श्रेष्ठ (रिच इन्टरटेन्मेन्टका प्रमुख)ले यसको पुष्टि गरे ।

‘मायावी’ले प्रदर्शन मिति घोषणा गर्दा लक्ष्मीपूजामा नेपाली फिल्म ‘एक्टरः टेक वान’ र बलिउडबाट ‘सिंघम ३’ र ‘भूल भूलैया ३’ मात्र आउने निश्चित थियो । पछि अर्को नेपाली फिल्म ‘पूर्ण बहादुरको सारंगी’ र साउथको ठूलो फिल्म ‘कंगुवा’ पनि थपियो । जसले गर्दा पर्याप्त हल नपाइने भएपछि ‘मायावी’ का निर्माताले सुरक्षित मिति खोजेका हुन् । अब यो फिल्म पुष २६ मा ‘कार्साङ्’सँग भिड्नेछ ।

वितरक श्रेष्ठले तिहारमा धेरै फिल्म भएकाले रिलिज सारेको बताए । उनले भने– ‘तिहारमा धेरै फिल्म भए । बलिउडका ठूला फिल्म पनि आउने भए । तिहारमा एउटा मात्र नेपाली फिल्म आउनुपर्छ । त्यसले एउटा माहोल बन्छ । तीनटा आउँदा तीनतिर माहोल बन्ने भएकाले हामीले मार्ग प्रशस्त गरेका हौं ।’ ‘मायावी’लाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।

दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्मको निर्मातामा राज कटुवाल, चन्द्र पन्त र ध्रुव न्यौपाने छन् । यसमा प्रशान्त ताम्राकार, सुशील सिटौला, राजाराम पौडेल, करिश्मा श्रेष्ठ लगायतको पनि अभिनय छ । ‘मायावी’को रिलिज ‘पोस्टपोन्ड’ भएपछि निर्देशक भट्टराई यही असोज ७ गतेबाट आफ्नो नयाँ एक्सन फिल्म ‘नरसिंहा अवतार’को छायांकन सुरु गर्ने तयारीमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्